चितवनः जिल्लामा निषेधाज्ञा खुकुलो भए संगै व्यवसायहरु सञ्चालनमा आएका छन् । आज देखि संञ्चालमा आएका व्यवसायहरु संञ्चालनका लागि जिल्ला प्रहरी कार्यालयले निर्देशन जारी गरेको छ ।

कोरोना संक्रमण वढ्दै गएको भए पनि निजी क्षेत्रको दबाब पछि स्थानीय तह र स्थानीय प्रशासनले निषेधाज्ञालाई केही खुकुलो पारेका छन् । तर पनि कोरोना वढ्ने त्रास भने कायमनै छ । यसै क्रममा प्रहरीलेसम्पर्क सीमित गर्नु नै कोरोना संक्रमणको गति कम गर्ने एक मात्र उपाय भएको जनाएको छ ।

एक सूचना जारी गर्दै जिल्ला प्रहरी प्रमुख नान्तीराज गुरुङले सामाजिक दूरीले नै सामाजिक भ्याक्सिनको काम गर्ने भएकोले सामाजिक दूरी र सुरक्षाको मापदण्ड अपनाउँदै व्यापारिक संस्था र पसलहरु खुला गर्न अनुरोध गर्नुभएको छ ।

प्रहरी कार्यालयको सूचनामा जिल्ला प्रशासन कार्यालय चितवनको शुक्रबारको आदेश अनुसार निषेधाज्ञा जारी नै रहेकोले व्यवसाय तथा पसलहरु खोल्दा बढीमा पाँच जना ग्राहक मात्र प्रवेश गर्न दिन निर्देशन दिइएको छ । त्यस्तै, संघसंस्थाले निम्नतम् कर्मचारी मात्र राख्न, डिपार्टमेन्टल स्टोर र फेन्सी पसलहरुले ट्रायल रुमको प्रयोग नगर्न प्रहरीले निर्देशन दिएको छ । सूचनामा कम दूरीमा सवारी साधनको प्रयोग नगर्न र सरकारी कार्यालयका सेवाग्राहीले प्रायोजन खुलेको सिफारिससहित आवतजावत गर्न पनि निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस !