चितवनः कोरोना भाईरस संक्रमण रोक्ने नाउँमा घरघरमा प्रयोग गरिने जडिबुटी अधिक मात्रामा प्रयोग गर्दा हानिकारक हुने विज्ञहरुले बताएका छन् । बेसार, गुर्जो, तुलसी, मरिच, अदुवा, टिमुर लगायत जडिबुटीको प्रयोग हावापानी, भौगोलिक अवस्था र प्रयोगकर्ताको शारीरिक क्षमता अनुसार मात्रा मिलाएर प्रयोग गर्न उनीहरुले सुझाएका हुन् ।
कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी महामारीसँगै नेपाल लगायत विभिन्न मुलुकमा जडिबुटी एवं आयुर्वेदिक औषधिको प्रयोग अत्याधिक मात्रामा बढेको छ । मानिसहरुले घरघरमा यसको आफूखुशी प्रयोग गरेका छन् ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चितवनका प्रमुख डा. कोपिला अधिकारी आफूखुशी जडिबुटीको प्रयोग गर्नु उचित नहुने बताउनुहुन्छ । उहाँका अनुसार आयुर्वेदमा आहार द्रव्य (खानाको रुपमा) र औषध द्रव्य (औषधिको रुपमा) यसको प्रयोगको स्पष्ट भिन्नता दिईएको छ । खानामा मसलाको रुपमा प्रयोग गरिने बेसार, अदुवा, टिमुर, मरिच मौसम, परिकारको गुण परिणाम, भौगोलिक परिवेश, हावापानी, व्यक्तिको प्रकृति, रोग अवस्था अनुसार मात्रा विचार गरेर प्रयोग गर्नुपर्ने उहाँ सुझाउनुहुन्छ ।
सामान्य रुपमा तरकारी, दाल, अचार, चियामा गर्मी ठाउँमा कम र चिसो ठाउँमा ठिकै मात्रामा यस्ता मसलाजन्य जडिबुटीको नियमित प्रयोग गर्न सकिन्छ ।
उहाँका अनुसार बेसार उचित मात्रामा प्रयोग गरेमा छालाको रोग, नाकको एलर्जी, घाँटीको संक्रमण, ब्रोङ्काईटिस, नेत्राभिष्यंद (आँखा पाक्ने), जीर्ण व्रण (पुरानो घाउ खटिरा), ढुसीजन्य संक्रमण, क्यान्सर विरुद्ध लड्ने क्षमता बढाउने काम गर्दछ । विभिन्न अनुसन्धानबाट पुष्टि भए अनुसार हरिद्रा (बेसार) को प्रयोग हेपाटाइटिस बिभाइरस, पारा इन्पÞm्लुएन्जÞा भाइरस टाइप ३, रेस्पिरेटरि सिनसाइटल भाइरस, इन्पÞm्लुएन्जÞ भाइरस विरुद्द प्रभावकारी रहेको पाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “यसमा विशेष गरि कर्कुमिन (रासायनिक तत्व) लगायत रासायनिक सक्रिय तत्वको मुख्य भूमिका रहेको हुन्छ । जसले शरीरमा भाइरसको वृद्धि एवं प्रभावलाई निस्तेज पार्दछ ।”
पित्त थैलीको पत्थरी भएका, एस्पीरिन, वार्फारिनको नियमित सेवन गर्ने व्यक्तिले बेसारको सेवन साबधानीपूर्वक कम मात्रा गर्नुपर्ने उहाँको सुझाव छ । त्यसैगरी पित्त प्रकृति (गर्मी शरीर) हुने व्यक्तिले बेसारको प्रयोग कम मात्रामा गर्नु पर्ने उहाँको भनाई छ ।
सामान्यता नेपालीको खानामा प्रयोग गरिने बेसारले शरीरलाई आवश्यक पर्ने मात्रा पुग्ने गरेको उहाँले बताउनुभयो । त्यस बाहेक राती सुत्नु अगाडी तातो दुधमा १ ग्राम बेसार राखेर पिउनु राम्रो हुने उहाँको भनाई छ । यसरी पिउदा बढीमा २१ दिनसम्म मात्र पिउनु राम्रो हुने अधिकारीले सुझाव दिनुभयो ।
गुर्जाे विशेषतः रसायन एवं शरीरमा बल दिनको लागि र रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि प्रयोग गरिने उहाँको भनाई छ । तीर्खा लाग्ने, घाउखटिरा, मधुमेह, रुघाखोकी, दम, एनिमिया, जण्डिस, छालाको रोग, एयुरिक एसिड, ज्वारो लगायत अन्य रोगहरुमा आवश्यकता अनुसार यसको प्रयोग गरिन्छ । समय समयमा देखा पर्ने डेंगु ज्वरो, स्वाइन फ्लु, एवं अन्य भाइरस जन्य रोगहरु (रुघा, खोकी, ज्वोरो), रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न र एन्टी भाइरल विरुद्ध यसको प्रयोग गरिने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो “यो आफैंमा मधुमेहको औषधि भएकाले रगतमा चिनीको मात्रा कम भएका र सुगरको औषधि खाइरहेका व्यक्तिहरुले चिकित्सकको प्रत्यक्ष निगरानी मात्र गुर्जाेको सेवन गर्नु उपयुक्त हुन्छ । लामो समयसम्म प्रयोग गर्दा यसले ब्लड प्रेसर कम हुने सम्भावना रहन्छ ।”
पाँच ग्राम गुर्जाेको चुर्ण पानीमा उमालेर मिश्री मिलाएर चियाको रुपमा पिउन सकिन्छ । उहाँले भन्नुभयो “ताजा गुर्जोको रस २०–२५ मि लि दिनमा एकपटक र ताजा गुर्जोको डाँठ थिचेर साँझ पानीमा भिजाएर मिश्री मिलाएर राख्ने बिहान छानेर ५० मि लि पिउने गर्नाले फाईदा हुने गर्दछ ।” यसरी खाँदा पनि २१ दिनसम्म मात्रै सेवन गर्नु उत्तम हुने उहाँको भनाई छ ।
तुलसी, ज्वानो, टिमुर, अदुवा जस्ता जडिबुटी रुघा, खोकी, ज्वोरो, रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न र एन्टी भाइरल विरुद्ध प्रयोग गर्न सकिने भए पनि यसको सेवन मात्रा मिलाएर सात दिन मात्रै गर्नु पर्ने उहाँको सुझाव छ । टिमुर र अदुवा पाईल्स, फिसरको रोगी, पित्त प्रकृतिको व्यक्तिले सेवन गर्न नहुने उहाँले बताउनुभयो ।
आयुर्वेदका चिकित्सक पि एन भुषाल जेसुकै पनि मात्रा मिलाएर नखानु मानव स्वास्थ्यका लागि हानिकारक हुने बताउनुहुन्छ । उहाँले बेसार, गुर्जाे लगायतका जडिबुटीहरु मात्रा अनुसार मात्रै प्रयोग गर्न सुझाव दिनुभयो ।
औषधिका रुपमा प्रयोग गरिने जडिबुटीको प्रयोग जथाभावी धेरै मात्रामा गरेमा त्यसको नकारात्मक प्रभावहरु देखिने उहाँले बताउनुभयो । यसको प्रयोग गर्नु अघि आयुर्वेदिक चिकित्सकसँग परामर्श गर्न पनि उहाँले सुझाव दिनुभयो ।