बुटवलः कोरोना संक्रमणको समयमा अग्र पंत्तिमा रहेका काम गर्नेहरुलाई पछिल्लो समय कोरोना पुष्टि हुन थालेको छ । प्रहरी, स्वास्थ्यकर्मी वढि मात्रमा संक्रमित भएका छन् ।
यसै क्रममा इलाका प्रहरी कार्यालयबुटवलका थप ११ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि १० भदौमा १५ थुनुवा र ४ जना प्रहरीमा कोरोना पुष्टि भएको थियो । गएराति आएको रिापेर्टअनुसार ११ जनामा कोरोना संक्रमण पुष्टि भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
योसँगै इलाका प्रहरी कार्यालयमा संक्रमितको संख्या ३० पुगेको छ । थुनुवा र प्रहरीमा कोरोना पुष्टि भएपछि उनीहरूको सम्पर्कमा आएका र लक्षण देखिएका प्रहरीमा गरिएको परीक्षणमा सोमबार थप ११ जनामा कोरोना पुष्टि भएको हो । यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
स्वाब संकलन गरेर पठाइएकामध्ये १९ जनाको रिपोर्ट आएको र त्यसमध्ये ११ जनाको रिपोर्ट पोजिटिभ देखिएको र अन्य ५ जनाको रिपोर्ट आउन बाँकी रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले प्रहरी जवानदेखि जुनियर अधिकृतसम्मका २४ जनाको स्वाब संकलन गरिएकोमा १९ जनाको परीक्षण गर्दा ११ जनाको रिपोर्ट पोजिटिभ आएको पुष्टि गरे । इलाका प्रहरी कार्यालयमा १ सय ५० भन्दा बढी प्रहरी कर्मचारी कार्यरत रहेका छन् ।







