चितवनः तेस्रो साता चलिरहेको निषेधाज्ञा हटाउन निजी क्षेत्रले माग गरेका छन् । व्यापार व्यवसाय धरासायी वनेको भन्दै उद्योगी व्यवसायीहरुले निषेधाज्ञा हटाउन माग गरेका हुन ।
जिल्लामा बिभिन्न व्यवसायमा आवद्ध निजी क्षेत्रका संघ संस्थाहरुले आज प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई ज्ञापन पत्र बुझाउँदै सोमबार भदौ १५ गते देखि निषेधाज्ञा सहितको लकडाउन हटाउन माग गरेका हुन ।
निरन्तरको निषेधाज्ञाले आपूर्ती श्रृंखला टुट्न गई मानिस रोगले भन्दा पनि भोक र व्यवसायीक तनावले अति असामान्य अवस्था सिर्जना हुन सक्नेमा निजी क्षेत्रको गम्भीर ध्यानाकर्षण भएको भन्दै निषेधाज्ञा सहितको लकडाउनको विकल्प खोज्न अनुरोध गरेका छन् ।
ज्ञापनपत्र बुझाउने संघसंस्थाहरुमा चितवन उद्योग संघ, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, निर्माण व्यवसायी संघ, क्षेत्रीय होटल संघ, हिसान, प्याब्सन, नेपाल चिकित्सक संघ, रत्ननगर उद्योग वाणिज्य संघ, क्षेत्रीय होटल संघ, नेपाल पोल्ट्री महासंघ, ह्याचरी उद्योग संघ र होटल व्यवसायी संघ लगायतका संघसंस्थाका प्रमुख एबं प्रतिनिधिहरु प्रशासन कार्यालय पुगेका थिए । ज्ञापनपत्रमा विश्वस्वास्थ्य संघ र विज्ञहरुले कोरोनाको जोखिम दुई वर्षसम्म रहन सक्ने बताएको भन्दै वैकल्पिक स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै आर्थीक गतिविधि चलायमान गराउन व्यवसायीहरुले माग गरेका छन् ।
त्यसैगरी ज्ञापनपत्रमा बैँक तथा बित्तिय संस्थामा आधा आधा कर्मचारी परिचालन गरी भीडभाड नहुने गरी बिहान र बेलुका सेवा प्रवाह गर्दै ई–बैँकिङलाई प्रोत्साहन गर्न सकिने भनिएको छ । सम्बन्धित उद्योगको पत्र वा परिचयपत्रलाई मान्यता दिई सहजरुपमा दुई पाङ्ग्रे सवारीमा एक जना र चार पाङ्ग्रेमा अधिकतम दुई जना हिडडुल गर्न सक्ने गरी व्यवस्था गर्न निजी क्षेत्रले माग गरेका छन् ।
चितवनका सामुदायिक तथा संस्थागत विद्यालयहरुले विद्यार्थीको शैक्षिक शत्र खेर जान नदिई वैकल्पिक सिकाइका विधीलाई मान्यता दिई सोही अनुसार पठनपाठन गराउन विद्यार्थी भर्ना गरी शैक्षिक शुल्क उठाउन सक्ने वातावरण तयार गर्न पनि माग गरिएको छ । त्यसैगरी सार्वजनिक यातायातको हकमा निषेधाज्ञा खोलिएको एक हप्तापछि यसअघि सरकारले तोकेको मापदण्ड बमोजिम सञ्चालन गर्न पनि ज्ञापनपत्रमा प्रशासनको ध्यानाकर्षण गराइएको छ ।
ज्ञापपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भट्टराईले जुन क्षेत्रमा सङ्क्रामक रोग नियन्त्रणको मापदण्ड पुरा भएका छन् ती क्षेत्रमा निषेधाज्ञा खुल्ला गर्न सकीने वताउनुभयो । व्यवसायीहरुलाई भट्टराईले उद्योग संञ्चालन गर्न कुनै समस्या भएमा भन्न आग्रह गर्नु भएको थियो । ज्ञापनपत्र दिन पुगेका सबैले आ–आफ्ना उद्योग भने संञ्चालनमा आएको जानकारी गराएका थिए ।