बाराः नेपाल आयल निगम मातहत रहेको यहाँको एक डिपोमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । देशका अधिकांश स्थानमा पेट्रोलियम पदार्थको वितरण गर्ने अमलेखगञ्ज डिपो र मातहतका १६ जना कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्ज क्षेत्रीय डिपोमा कार्यरत चालकसहित १६ जना संक्रमित भएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमितमध्ये अधिकांश प्रशासन र निगममा सरसफाई गर्ने कर्मचारी छन् ।

निगम तथा मातहतका ८१ जनाको स्वाब संकलन गरी वीरगञ्जस्थित नारायणी उपक्षेत्रिय अस्पतालमा गरिएको पीसीआर परिक्षणमा उनीहरूको रिपोर्ट पोजिटिभ आएको उहाँले बताउनुभयो ।

संक्रमण पुष्टि भएपछि निगमले आफना संक्रमित कर्मचारीलाई पायक पर्ने स्थानीय होटलको आइसोलेसनमा आइसोलेट गरिएको छ । संक्रमित कर्मचारीको सम्पूर्ण खर्च निगमले ब्यहोर्नेसमेत बताइएको छ ।

पण्डीत अनुसार संक्रमणपछि अमलेखगञ्ज र विरगन्ज कार्यालय ७२ घण्टाका लागि सिल गरिएको छ ।

संक्रमण पुष्टि भएपश्चात समेत इन्धन अभाव हुन नदिन डिपो सञ्चालनका काठमाडौंबाट कर्मचारी आउन लागेको उहाँले जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस !