चितवनः कोरोना संक्रमित वढ्दै गए पछि प्रयोगशालामा चाप वढ्दा नतिजा आउन ढिलाई हुन थालेको छ । नमुना परिक्षणका लागि दिएकाहरुले नतिजाका लागि एक साता सम्म कुर्नु परेको गुनासो गरेका छन् ।
पूर्बी चितवनको खैरहनीका पत्रकार धु्रबराज खनालले पिसिआरको नतिजा आउनका लागि एक साता वढि कुनुपर्ने भएकाले त्यहाँका चार नगरपालिकाले प्रयोगशाला स्थापना गनुपर्ने माग वढेको बताउनुभयो । रतननगर नगरपालिकाका प्रमुख नारायण वनका अनुसार समयमा नतिजा नपाए पछि समस्या हुने गरेको छ ।
उहाँले चार नगर प्रमुखहरुको बैठकले वागमती प्रदेश सरकारसंग प्रयोगशाला स्थापनाका लागि अनुरोध गरिएको बताउनुभयो । भरतपुर महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक सुवेदी स्वाबको नतिजा पाउन एक साता कुर्नु परेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “सोमबार नमुना पठाएको नतिजा हिजो प्राप्त गरेका छौ ।” महानगरका ३ सय स्वाबको नतिजा आउन अझै बाँकी छ ।
समयमा नतिजा नआउँदा घरमा थुनियर बस्नु परेको स्थानीयहरुको गुनासो छ । जिल्लामा एउटा मात्र सरकारी प्रयोगशाला रहेको छ । भरतपुर अस्पतालले संञ्चालन गरेको भरतपुर कोभिड १९ प्रयोगशालाको क्षमता कम छ भने नमुना संकलनको चाप वढेको छ । प्रयोगशाला प्रमुख डा. नीतु अधिकारी प्रयोगशालाले सात घण्टामा ९६ वटा मात्र नमुना परिक्षण गर्न सक्ने बताउनु हुन्छ । नमुनालाई मिसाएर गरिने पुल म्याथडबाट २४ घण्टामा ६ सय सम्म नतिजा निकाल्ने गरेको उहाँ बताउनुहुन्छ ।
पाँचवटा सम्म नमुनालाई मिसाएर परिक्षण गरिने गरेको छ । सबै नमुनालाई मिसाउन नमिल्ने भएकाले चाप अनुसारको नमुना परिक्षण गर्न कठिन भएको अधिकारीको भनाईछ । प्रयोगशालामा हाल आठ जना प्राबिधिक कर्मचारीले काम गरिरहेका छन् । उहाँले भन्नुभयो “रात दिन काम गरिरहेको भए पनि समयमा नतिजा दिन सकेका छैनौ । ” हाल प्रयोगशालामा ९ सय भन्दा वढि नमुना परिक्षणका लागि पालोमा राखिएको छ ।
भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजरराज अधिकारी अस्पतालहरुमा संक्रमण फैलँदा वन्द भएका सेवा सञ्चालनका लागि चिकित्सक, स्वास्थ्यकर्मीको नमुना परिक्षण प्राथमिकतामा राखिएकै कारण क्वारेन्टिनमा वसेकाहरुको नतिजा आउन ढिला भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो “चिकित्सक, स्वास्थ्यकर्मीको परिक्षण गरेर जति सक्दो छिटो अस्पताल खोल्नु पर्ने बाध्यताका कारण क्वारेन्टिनका नमुनाको नतिजा आउन ढिलाई भएको हो ।” जिल्लामा निजी क्षेत्रबाट चितवन मेडिकल कलेजले प्रयोगशाला संञ्चालनमा ल्याएको छ । सो प्रयोगशालामा ६ घण्टामा ४ सय जनाको परिक्षण गर्न मिल्छ ।
सरकारी तवरबाट संकलन भएका नमुना पठाएमा आँफुहरु परिक्षणका लागि तयार रहेको अस्पतालका अध्यक्ष एबं प्रबन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले बताउनुभयो । उहाँका अनुसार मेडिकल कलेजको प्रयोगशालामा प्रत्यक्ष रकम तिरेर परिक्षण गर्न आउनेहरु दैनिक २ सय हाराहारी मात्र छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी प्रमुख डा. रुना झा सामान्यतय ७२ घण्टा भित्र नतिजा दिने गरि काम गर्नुपर्ने बताउनुहुन्छ । त्यहाँ वढि चाप भएमा नमुना यहाँ पठाउन आँफुले भनि सकेको उहाँले बताउनुभयो । सरकारी प्रयोगशाला जहाँ कम चाप छ त्यही पठाएर व्यवस्थापन गर्न सकीने उहाँको भनाई छ ।
निजी प्रयोगशालाहरुमा भने हाल सम्म नपठाईएको उहाँले बताउनुभयो । यहाँको सरकारी प्रयोगशालामा जिल्लाका सात स्थानीय तह, सरकारी र निजी अस्पताल, मेडिकल कलेज संगै छिमेकी जिल्लाबाट समेत नमुना पठाईने गरेको छ । चैत अन्तिम साता सुरु भएको सो प्रयोगशालाले हाल सम्म १८ हजार नमुना परिक्षण गरि सकेको छ । जिल्लामा पछिल्ला दिनहरुमा संक्रमण वढ्दो छ । हाल सम्म ३ सय ६८ जना संक्रमित भई सकेका छन् भने तीन जनाको मृत्यु भएको छ ।
अस्पतालमा संक्रमण फैलिए पछि आकस्मिक वाहेकका सेवा वन्द भएका भरतपुर अस्पताल र वी.पी. कोईराला मेमोरियल क्यान्सर अस्पताल हाल सञ्चालनमा आएका छन् ।

प्रतिक्रिया दिनुहोस !