काठमाडौंः सरकारले कोभिड–१९ को उपचार हुने उपत्यकाका अस्पतालहरुलाई आइसोलेसन र आईसीयूमा बिरामी भर्ना गर्दा तोकिएका चार जना अधिकृतको सिफारिसमामात्रै भर्ना गर्न उर्दी जारी गरेपछि नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ ।

नेविसंघले आइतबार विज्ञप्ति जारी गरेर आइसोलेसन र आईसीयूमा बिरामी भर्ना गर्दा तोकिएका चार जना अधिकृतको सिफारिस चाहिने सरकारको उर्दीप्रति आपत्ति जनाएको हो ।

कोरोना महामारीको विषम् परिस्थितिमा राज्यले सबै नागरिकको स्वास्थ्य उपचारको पर्याप्त व्यवस्था गर्नुपर्ने अवस्थामा सरकारले कोभिड उपचारमा संलग्न उपत्यकाका सबै अस्पतालहरु र नेपाल एम्बुलेन्स सर्भिसलाई पत्राचार गरी कोभिड–१९ का बिरामीका लागि छुट्याइएका आइसोलेसन र आईसीयू बेडहरुमा बिरामी भर्ना गर्दा नेपाल सरकारले तोकेका चार जना अधिकृतको सिफरिसबाटमात्र भर्ना गर्नु भन्ने स्वास्थ्य तथा जनसंख्या मन्त्तालय, स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रद्वारा भदौ ५ गते गरेको पत्राचारप्रति नेविसंघको गमभीर ध्यानाकर्षण भएको छ,” अध्यक्ष राजिव ढुंगानाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सरकारको पछिल्लो कदमले संविधानको धारा ३५ मा व्यवस्था गरिएको स्वास्थ्यसम्बन्धी मौलिक हकको ठाडो उल्लंघन भएको भन्दै नेविसंघले आमजनताको स्वास्थ्यमाथि गरिएको खेलवाड स्वीकार्य नहुने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस !