काठमाडौंः राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । १ सय १ वर्षिय घिमिरेको आज साँझ निधन भएको हो ।

राष्ट्रकवि घिमिरेको साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको उहाँका छोरा राजीब घिमिरे जानकारी दिनुभयो ।
उहाँका अनुसार राष्ट्रकवि घिमिरेको उनकै निवासमा निधन भएको हो ।

घिमिरे १९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मनु भएको थियो । घिमिरे सरकारले राष्ट्र कविको उपाधी दिएका कवि हुन् ।

नेपाली साहित्यमा कविता, खण्डकाव्य, गितिनाटक, कथा, गीत, अनुवादमा उनले कलम चलाएका छन् । उहाँका नवमञ्जरी, घामपानी, नयाँ नेपाल, किन्नर–किन्नरी कविता संग्रह प्रकाशित छन् । गौरी खण्ड काब्य उनको चर्चित पुस्तक हो ।

चर्चित राष्ट्रिय गीत “गाउँछ गीत नेपाली” का रचनाकार घिमिरेका अन्य गीत पनि लोकप्रिय छन् । “फूलको थुङ्गा बगेर गयो” (तारादेवी), “आजै र राति के देखेँ सपना” (नारायणगोपाल)ले गाएका गीतका रचनाकार घिमिरे नै हुन् ।

घिमिरेलाई राज्यले २०६० सालमा राष्ट्रकविको उपाधिले सम्मान गरेको थियो । उहाँले साझा पुरस्कार, त्रिभुवन प्रज्ञा पुरस्कार, भूपालमान सिंह कार्की प्रज्ञा पुरस्कार, आदिकवि भानुभक्त पुरस्कारलगायत दर्जनौं पुरस्कार तथा सम्मान प्राप्त गरेका थिए । उहाँलाई राज्यले विभिन्न सुविधासमेत उपलब्ध गराउँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस !