–दिपेन्द्र अधिकारी

चैत ७ गते उद्घाटन गरिएको कोरोना विशेष अस्पतालको उद्घाटन समारोहको साक्षी म पनि थिएँ । हेर्दाहेर्दै ७२ घन्टामा अस्पताल तयार भयो । उद्योग संघको प्रदर्शनी हलमा मेडिकल उपकरण र पार्टेसनपछि तयार भयो अस्पताल । भेन्टिलेटर, आइसियूसहित ७० बेडको सुविधायुक्त अस्पताल थियो । अस्पताल बनेपछि केही अचम्मित बने, केही प्रशंसक बने भने केही आलोचक पनि । तत्कालीन समयमा भरतपुर महानगरको अगुवाइमा उक्त काम भएको थियो । नेतृत्वकर्ता थिइन्, महानगरकी प्रमुख मेयर रेनु दाहाल । लाग्छ, यो अस्पताल स्थापना गर्नुमा मेयर दाहालको व्यक्तिगत त परै जाओस् राजनीतिक स्वार्थ पनि थिएन । अर्थात्, साझा स्वार्थ थियो, हामीले कोरोना संक्रमितको सफल उपचार गर्न सकौँ । किनकि, कोरोनाले न जनप्रतिनिधि, न डाक्टर, न पत्रकार न अरु कोहीकसैलाई पनि छाड्दैन भन्ने सबैलाई लागिसकेको थियो ।

जो मान्छे कोरोना अस्पतालको सुरूवाती समयमा प्रशंसक थिए पछि उनीहरु आलोचना गर्नतर्फ लागे । यसमा राजनीतिक गन्ध झल्किन्थ्यो । विश्व नै कोरोनासँग जुधिरहेको समयमा हामी भने माखाको जत्रो पित्त बनाएर आपसमा व्यङ्ग्य गर्न लागिपरेका थियौँ । जे होस्, ७२ घन्टामा उपचारका लागि लायक बनेको अस्पतालले त्योभन्दा छिटै राष्ट्रियरुपमा चर्चा पाइसकेको थियो ।

विश्वमै नयाँ भनी चिनिएको कोरोना भाइरसका बिरामीको उपचारका लागि स्थापना गरिएको यस अस्पतालमा नेतृत्वको विषयलाई लिएर केही दिन हलचल भयो । चितवनमा कोरोना विशेष अस्पताल बन्यो भन्दा पनि राजनीतिक दाउपेचका रुपमा यस अस्पताललाई लिइयो । यसको प्रगतिको कामना गर्नेहरुभन्दा पनि उँधोगतिको प्रार्थना गर्नेहरु धेरै हुन थाले । सामाजिक सञ्जालमात्रै नभएर मूलधारका मिडिया पनि अस्पताल सञ्चालनलाई व्यवस्थित र दीर्घकालीन बनाउनुपर्छ भन्नेमा लागेनन्, बरू धेरैभन्दा धेरै नकारात्मक कुराहरु सार्वजनिक भए ।

अरु समस्यासँग जुध्दै आएको कोरोना विशेष अस्पताल अन्ततः वैशाख १५ गते थला नै प¥यो । कोरोना अस्पतालमा चोरी भनेर भिडियो नै सार्वजनिक भयो । मानिसहरुले पत्याए, किनकि त्यो भिडियोसहितको प्रमाण थियो । तर घटना कसरी सृजित भयो, भिडियो कहिले, कसले र किन सम्पादन गरेर तयार पा¥यो भन्नेतर्फ मान्छेहरुले चासो दिएनन् । चोरी भएको प्रमाण नभेटेपछि आरोपितले सफाइ पाए । नकारात्मक हल्ला तत्काल फैलाउने र पछि लाग्ने सामाजिक संस्कार नै बसिसकेको एउटा उदाहरण यो घटना पनि हो ।

यसकारण फेरि चलाउनुपर्छ अस्पताल
प्रश्न गर्न जति सजिलो छ व्यवहारमा त्यो काम सल्टाउन गाह्रो छ । स्वास्थ्य क्षेत्रका विज्ञहरुको साझा भनाइ रहेको छ– कम्तीमा पनि कोभिड र ननकोभिडको भिन्दाभिन्दै उपचार गरौँ । हुन पनि कोरोना अस्पतालको स्थापना कोभिड बिरामीको उपचारका लागि भनेर गरिएको थियो । तर भरतपुर अस्पतालमै सम्भव छ, किन कोरोनामा उपचार ? भनी केहीले तर्क अघि सारे । संक्रमित बिरामीले उपचार पाउनु पहिलो कुरा थियो । त्यसैका लागि यो अस्पताल स्थापना गरिएको थियो । किनकि, अन्य बिरामीका लागि त भरतपुर अस्पताल, अरु मेडिकल कलेज र निजी अस्पताल थिए नै ।

आज हामीबीच कोरोना जसरी फैलिएको छ, कोरोना अस्पताल सञ्चालनमा हुन्थ्यो भने यो अवस्था आउने थिएन । किनकि, जिल्लामा एक हप्ताको सार्वजनिक रिपोर्टले यसको जवाफ दिएको छ । सबै खाले अर्थात् कोरोना आशंकित, पुष्टि भएका र नभएकाहरुको उपचार एकै ठाउँमा हुनु नै कोरोना संक्रमण फैलनुको प्रमुख कारण देखिएको छ । त्यतिमात्रै होइन, एउटै चिकित्सक वा नर्सले आशंकित, कोरोना भएका र नभएका बिरामीको उपचार गर्दा यो समस्या स्वास्थ्यकर्मीहरुमा झन् बढी देखिएको छ । यतिसम्म कि स्वास्थ्यकर्मीहरु खुल्लमखुल्ला जताततै आफूलाई प्रस्तुत गर्ने गरेका छन् ।

कोरोना संक्रमितको उपचारमा न्यूनतम सावधानी नअपनाउँदा उच्चतम खतरा देखिएको छ । अस्पतालमा जुन डाक्टर वा नर्सले संक्रमित वा आशंकित बिरामी हेर्छन् उनीहरु नै खुल्लमखुल्ला अरुसँग सम्पर्कमा रहन्छन् । त्यही जनशक्ति सेवा दिन भन्दै निजी अस्पताल पनि पुग्छ । उनीहरुको व्यवस्थापनमा अस्पतालले पनि ध्यान दिएको छैन ।

सबै प्रकारका बिरामीलाई बचाऔँ

कोभिड र ननकोभिड सबै प्रकारका बिरामीको उपचारका लागि भिन्दाभिन्दै अस्पताल हुनुपर्ने माग उठिरहेकै छ । कोरोना संक्रमितका लागिमात्रै भनेर यस अस्पतालको स्थापना गरिनु दूरदर्शी कदम थियो । सबै प्रकारका बिरामीको उपचार एकै ठाउँमा गर्दाको असर अहिले देखिँदै छ । उदाहरणका लागि डायलाइसिस हप्तामा २ पटक गर्नुपर्छ, नत्र मान्छे मर्न सक्छ । यसले समय कुर्दैन । क्यान्सर र मुटुको रोगको समस्या पनि त्यस्तै हो । समयमै उपचार नभए बिरामी मर्न सक्छ । कोरोनाको पनि उपचार भएको अस्पताल भनेपछि मान्छे हत्तपत्त त्यो अस्पतालमा जाँदैन । अतः अन्तिम अवस्थामा अस्पताल पुग्दा मर्ने सम्भावना बढेर जान्छ ।

जुन हिसाबले रोगको संक्रमण बढेको छ त्यही हिसाबमा उपचारको क्षमता, चिकित्सक, सामग्री हामीकहाँ उपलब्ध छैन । जसले गर्दा भविष्यमा हुन सक्ने महामारीको परिकल्पना त गर्न सकिन्छ, तर रोकथामको कुरा भने कुरामै सीमित हुन्छ । नेपालमा एउटा तथ्याङ्कले संस्थागत सुत्केरी हुनेक्रम ५२ प्रतिशतमा झरेको देखाएको छ भने मातृशिशु मृत्युदर बढ्ने देखाएको छ । अस्पतालसम्म सुत्केरी गराउन जानेहरु गएका छैनन् ।

आवाज उठ्दैछ
बन्द गरिएको कोरोना अस्पताल पुनः सञ्चालनको आवश्यकता देखिएको छ । जिम्मेवार मान्छेहरुले पनि खोल्नुपर्ने महसुस गरेका छन्, तर भन्न सकिरहेका छैनन् । किनकि, हिजोका दिनमा कोरोना अस्पतालको औचित्य छ, यसलाई बन्द गरिनुहुन्न भनेर उनीहरुले खासै आवाज उठाउन सकेका थिएनन् ।

चितवनमा कोरोना संक्रमित बढेसँगै यसलाई पुनः ब्युँताउनुपर्ने आवाज उठ्न थालेको छ । ‘स्पाइरल अफ साइलेन्स’ सिद्धान्तजस्तै बिस्तारै मानिसहरुले यो अस्पताल खोल्नुपर्नेमा आवाज उठाउन थालेका छन् । अधिकारकर्मीसमेत रहेका प्राध्यापक विनोदखण्ड तिमिल्सेनाले सामाजिक सञ्जालमा भनेका छन्, ‘कोरोना अस्पताल दूरदर्शितापूर्ण निर्णय थियो, तल्लोस्तरको राजनीतिक दाउपेचको कोपभाजनमा परेर अवसान भयो ।’

राजनीतिककर्मी युवा सन्तोष पनेरुले केही दिनअघि सामाजिक सञ्जालमा यसै अस्पतालको बारेमा आफ्नो धारणा राखे । उनले भनेका छन्, ‘कोरोना अस्थायी अस्पतालको अवधारणा सही थियो, घरभित्रकै बाँदर र बाहिरका दुष्ट सबै मिलेर बन्द गराइछाडे ।’
लकडाउन र निषेधाज्ञाले हामी घरभित्रै छौँ र भौतिक दूरीसमेत कायम गरेका छौँ । हामीसँग प्रविधि साथमा छ । भर्चुअल बैठक राखेर भए पनि एकचोटि पुनः कोरोना विशेष अस्पताल सञ्चालनमा ध्यान केन्द्रित गर्ने हो कि ?

प्रतिक्रिया दिनुहोस !