
चितवनः कोरोना उपचारका लागि हव अस्पताल भरतपुर अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ । कोरोना भाईरसको संक्रमणको उपचारमा खटिएका अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट, प्रसुती तथा स्त्री रोग बिभागिय प्रमुख र अन्य चिकित्सक स्वास्थ्य कर्मीमा कोरोना संक्रमण देखिए पछि अस्पतालको आकस्मिक सेवा वाहेक अन्य सेवा वन्द गरिएको हो ।
यस अस्पतालमा चितवन सहितका १९ जिल्लाका बिरामीहरुको उपचार हुँदै आएको थियो । कोरोना संक्रमणका बिरामीहरु पनि त्यही अनुपातमा उपचार भईरहेको थियो ।
अस्पताल प्रशासनले एक सूचना जारी गर्दे आज साँझ ७ बजेदेखि अर्को सूचना जारी नभए सम्मका लागि अन्य सेवाहरु बन्द गरिएको जनाएको छ । अस्पतालले जनरल वहिरंग सेवा बन्द गरी एकीकृत आकस्मिक सेवा मार्फत बिरामीको उपचार गरिने सूचनामा उल्लेख छ ।
यस्तै सघन उपचार कक्ष र प्रसुति बिभागमा पनि नयाँ सेवा बन्द गरिएको छ । त्यहाँ रहेका बिरामीलाई व्यवस्थापन गरी निर्मलीकरणका लागि नयाँ सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।
यस्तै आकस्मिक शल्यक्रिया गर्नुपर्ने बिरामीहरुको सेवा यथावत रहने अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक स्वास्थ्य कर्मीमा कोरोना संक्रमण देखिए पछि वन्द गरिएको सो कक्ष शनिबार राति मात्रै खोलिएको थियो ।