आजैमात्र कोरोना रोगको उपचारको हब चितवनको भरतपुर अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट तथा विभागिय प्रमुख डाक्टरहरुमा संक्रमण देखिएपछि भरतपुरका अस्पतालहरुमा गरिने अन्य उपचारमा समेत समस्या देखिएको छ ।
उच्च सतर्कता अपनाएर उपचारका खटिएका चिकित्सकहरुमा संक्रमण देखिनुले आम जनमानसमा क्रास थपएिको छ । चितनवमा मात्रै २ सयको हाराहारीमा कोरोना संक्रमित पुगेको अवस्थामा यो संख्या अझै नसोचेको रुपमा बढ्ने निश्चित छ । यसले समुदायका भित्र भित्रै संक्रमण फैलिएको देखाउँछ ।
लकडाउन, सटडाउन, कर्फयु, निषेधाज्ञा जे नाम दिएतानि यो गर्नु भनेको समुदायमा महामारी फैलन नदिनको लागि गरिएको सुरक्षाको उपाय हो । तर यसको वास्ता नगरी मानिसहरु अझैपनि खुलेआम सडकमा निस्किरहेका देख्न सकिन्छ जसले आँफै रोग बोकेर घर तथा समाजमा फैलाइरहेको हुन्छ ।
प्रशासनले निषेधाज्ञा गरेकोे अवस्थामा अझैपनि कतिपय कार्यलयहरु भित्र भित्रै खोलेर आन्तरिक रुपमा कामहरु गर्ने गरेको, पसल तथा व्यवसायीहरुले सटरभित्रबाट कारोबार गरेको पाउन सकिन्छ । माक्स र सेनिटाइजर लागाएर म सुरक्षित छु भन्ने भ्रममा कतिपयहरु अझै खुलेआम काम गरिरहेका छन् ।
कोरोना परिक्षणको लागि स्वाब दिएर परिणाम नआउञ्जेल भेटघाटमा रमाउने धेरै छन् । नतिजा पोजेटिभ आउनेले त्यहीबीच थुप्रैलाई सारिसकेका हुन्छन्, त्यसैले अव रोग सँग जोगिने अन्तिम उपाय भनेको आफैंले आफ्नो सुरक्षा गर्नु हो । प्रशासनले निषेधाज्ञा गरेको आफ्नै लागि हो भन्दै अति आवश्यक काम बाहेक घर भित्र नै बसौं यस महामारीबाट बच्नको लागि सहयोग गरौं ।