काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सङ्क्रमण नियन्त्रणका लागि जनस्वास्थ्य विज्ञसँग परामर्श गर्ने तयारी गर्नु भएको छ ।
समूदायमा कोरोना संक्रमण फैलिएपछि रोकथाम र नियन्त्रणका लागि जनस्वा स्थ्यविज्ञहरूलाई बोलाएर छलफल गर्न लागिएको सीसीएमसी निकट स्रोतले जानकारी दियो । स्रोतका अनुसार जनस्वास्थ्यका क्षेत्रमा कार्यरत विज्ञहरूलाई आज बालुवाटार बोलाइएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि छलफल गर्न लागिएको जानकारी गराउनुभयो ।

यसअघि पनि लकडाउन खुकुलो बनाउन र परीक्षणलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीले विज्ञसँग परामर्श गरेका थिए । मंगलबारको छलफल यसैको निरन्तरता भएको स्रोतले जानकारी दियो । प्रधानमन्त्री ओलीले गत जेठ २१ गते यस्तै परामर्शको आयोजना गरेका थिए । त्यतिबेला विज्ञहरूले क्वारेन्टिनको सुधार, परीक्षणको दायरा बढाउन सुझाव दिएका थिए ।

“दोस्रो चरणको लकडाउनको कार्ययोजना त बनेको छैन । विज्ञहरूले के सुझाव दिनुहुन्छ, त्यसआधारमा कार्ययोजना तय होला,” कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर निर्देशक समिति निकट स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस !