चितवन – शिक्षामन्त्री गिरिराजमणी पोख्रेलको कार्यशैली प्रती असन्तुष्टी जनाउदै चितवनका विद्यार्थीहरु सडकमा उत्रिएका छन् । जिल्लाको कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरु सडकमा उत्रिएका हुन् ।

भरतपुरको चौबिसकोठीमा प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले शिक्षामन्त्री पोख्रेल र सरकारको विरोधमा नाराबाजी गरेका थिए । उनिहरुले ‘दुईजिब्रे शिक्षामन्त्री चाहिदैन, विद्यार्थीलाई धोका दिन पाँइदैन’ भन्दै नाराबाजी गरेका थिए । यस्तै उनिहरुले ‘ए मन्त्री ज्यु, विद्यार्थीलाई झुक्काएर के पाउनु भयो’ भन्दै शिक्षामन्त्रीलाई प्रश्न समेत गरेका थिए ।

प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले कक्षा ११ र १२ को परीक्षालाई लिएर ठोस् निर्णय लिन नसकेको भन्दै शिक्षामन्त्रीको राजिनामा मागेका थिए । कक्षा ११ को परीक्षा नहुने भन्दै १२ को अनलाइन कक्षा लिन शुरु गरिसकेको अवस्थामा फेरी कक्षा ११ को परीक्षा लिने भन्दै शिक्षामन्त्रीले विद्यार्थीलाई झुक्काएको उनिहरुले बताए ।

कोरोना कहरको समयमा परीक्षा दिनका लागि विद्यार्थीहरु मानसिक रुपमा तयार नभएको उनिहरुले बताएका छन् । शिक्षामन्त्रीको दुई जिब्रे कुराले विद्यार्थीहरु अलमलमा परेको उनिहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !