काठमाडौंः काठमाडौंको तारकेश्वर नगरपालिका–५ गोलढुङ्गामा स्थानीयको कुटाइबाट एकजनाको मृत्यु भएको छ । टोलवासीले रक्सी खाएर आएको व्यक्ति चोरी गर्न गाउँ छिरेको भन्दै कुटपिट गरेका थिए । प्रहरीका अनुसार गएराति १ बजेको समयमा चोर भन्दै टोलका व्यक्तिहरुको कुटाइबाट रसुवा घर भइ हाल कपुरधारा बस्दै आएका छिरिङ तामाङ मृत्यु भएको हो ।
कुटपिटबाट रसुवाकै दोर्जे तामाङ घाइते भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार मृतक तामाङ र उनका एकजना साथी मध्यरातमा मदिरा सेवन गरेर सो क्षेत्र पुगेका थिए ।
बरिष्ठ प्रहरी उपरिक्षक ज्ञवालीले भन्नुभयो, “उनीहरु गोलढुङ्गामा पुग्दा कुकुर भुकेछ । कुकुर भुकेपछि उनीहरुले घरबेटीलाई गाली गर्न थालेछन् । त्यही क्रममा चोर भन्दै टोलका व्यक्तिहरुले आक्रमण गरे । आक्रमणमा छिरिङको मृत्यु भयो । उनीहरु चोर्न पुगेका थिए वा अरु कारण थियो, अनुसन्धान गर्दैछौं ।”
घटनाबारे अनुसन्धानका लागि दुईजनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको ज्ञवालीले जानकारी दिनुभयो।