चितवनः कुखुरा पालक कृषकलाई बिचौलियाको प्रभाव घटाउन अण्डाको भण्डारण र सहकारी मार्फत आबश्यक सामाग्री बिक्रि एबं कच्चा पदार्थ खरिदमा सहयोग गरिने भएको छ । नेपाल अण्डा उत्पादक संघ केन्द्रिय समितिले भरतपुरको रामनगरमा रहेको आफ्नो जग्गामा बहुउद्देश्यिय भवन निर्माण गरि ती काम गर्न लागेको हो ।
संघका अध्यक्ष शिबराम केसीका अनुसार रामनगरमा रहेको तीन कठ्ठा चार धुर जग्गामा अलगअलग भवनहरु वनाईने छ । चार तलाको ती भवनमा अण्डा राख्न सितभण्डार, अण्डा उत्पादक कृषक मात्र रहेको सहकारीका पसलहरु संञ्चालन हुने छन् ।
संघका केन्द्रिय उपाध्यक्ष किरणभूषण ओलीको अध्यक्षतामा नेपाल अण्डा उत्पादक कृषि सहकारी दर्ता गरिएको छ । सितभण्डारका लागि प्रदेश सरकार र संघिय सरकारले बजेट बिनियोजन गरि सकेको केसीले जानकारी दिनुभयो । उहाँका अनुसार बागमती प्रदेशले फरक फरक शिर्षकमा रु २ करोड र संघिय सरकारले रु ६९ लाख बिनियोजन गरेको छ । काम गर्दै जाँदा आबश्यक पर्ने रकम थप गरिने आश्वासन पाएको केसीले बताउनुभयो ।
संघका उपाध्यक्ष एबं सहकारीका अध्यक्ष ओलीका अनुसार सितभण्डारमा एक लाख पेटि अण्डा भण्डारण गर्न सकीने छ । तापक्रम मिलाएर छोटाृे समयका लागि सितभण्डारमा अण्डा राख्न मिल्छ । जसले गर्दा समयमा बिक्रि नभएर अण्डा नष्टहुनबाट जोगिने हुन्छ । ओलीका अनुसार संघका सदस्य सहकारीमा रहनेछन् । सहकारी मार्फत अण्डा उत्पादक कृषकलाई आबश्यक चल्ला, औषधि, दाना, भाँडा, प्राबिधिक परामर्श संगै अण्डाको वजारीकरणमा पनि सहयोग गरिने उहाँले बताउनुभयो ।
कृषकलाई आबश्यक पर्ने सामाग्री र अण्डा बिक्रि गर्दा भएको बिचौलीयाको बिगबिगिलाई अन्त्य गर्दै कृषक र उपभोक्ताको हितमा सहकारीले काम गर्ने उहाँले जानकारी दिनुभयो । नेपाल अण्डामा आत्मनिर्भर रहेको छ । हाल २ हजार ७ सय भन्दा वढि कृषक यस पेशामा आवद्ध छन् । एक लाख भन्दा वढिले प्रत्यक्ष रोजगारी पाएको अण्डा क्षेत्रमा मात्र रु ४० अर्ब भन्दा वढि लगानी भएको अनुमान छ । बजार मूल्यमा एकरुपता नहुँदा धेरै यो पेशाबाट बिस्थापित भई सकेको केन्द्रिय अध्यक्ष केसी बताउनुहुन्छ ।
उहाँले भन्नुभयो “हामी बिचौलीयाको दवदवालाई अन्त्य गर्दै कृषक र उपभोक्ताको हितमा काम गर्न लागेका छौ ।” केसीले कृषि तथा पशुपक्षि मन्त्रालय र बागमती प्रदेशको भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्रालयका मन्त्रीज्यूहरु आँफै सकारात्मक र कृषकको पक्षमा तत्काल काम गर्नु पर्छ भन्नेमा रहेकाले संघलाई वल पुगेको बताउनुभयो ।