चितवनः मेडिकल सिटीका रुपमा विकास हुँदै गएको चितवनका अस्पतालहरुमा वार्षिक १५ लाखभन्दा बढीले सेवा लिने गरेको पाईएको छ । यहाँका सरकारी, निजी र सामुदायिक अस्पतालहरुमा जिल्ला र अन्य ठाउँबाट गरी ठूलो संख्यामा बिरामी आउने गरेका हुन् ।
स्वास्थ्य कार्यालय चितवनको तथ्यांक अनुसार गत वर्ष अस्पतालहरुबाट ८ लाख ५३ हजार ४१० जनाले बहिरंग सेवा लिएका छन् । यसका अतिरिक्त वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा एक लाख २५ हजार ४१ जनाले सेवा लिएका छन् । भरतपुर आँखा अस्पताल र यसका शाखाबाट गत वर्ष २ लाख ८ हजार ६४० जनाले सेवा लिएका छन् । निजी क्लिनिकहरुमा २ लाखभन्दा बढीले सेवा लिएको अनुमान छ ।
जिल्लाका ३० वटा अस्पतालमा बिरामीको उपचार गरिंदै आएको छ । ती मध्ये प्रसुती सेवा दिने अस्पतालहरुबाट गत वर्ष १७ हजार ४ सय २२ जनाले सेवा लिएका छन् । आकस्मिक सेवा र क्लिनिकहरुबाट सेवा लिनेहरुको एकिन तथ्यांक छैन । तर जिल्लाका सबै अस्पतालमा गरी आकस्मिकमा एक लाखभन्दा बढीले सेवा लिने गरेको चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक डा.हरिश्चन्द्र न्यौपाने बताउनुहुन्छ । उहाँका अनुसार भरतपुर अस्पतालमा दैनिक एक सय, चितवन मेडिकल कलेजमा ७५, कलेज अफ मेडिकल साईन्सेसमा ५० र अन्य अस्पतालहरुमा ५०को हाराहारीले आकस्मिक सेवा लिने गरेका छन् ।
निजी अस्पताल समन्वय समिति चितवनका सचिव बिक्रम अधिकारी गाउँगाउँमा क्लिनिकमा धेरै बिरामीले सेवा लिने गरेको बताउनुहुन्छ । उहाँको अनुमानमा दैनिक सरदर ६ सय बिरामीले क्लिनिकबाट सेवा लिने गरेका छन् । जसलाई हेर्दा वार्षिक दुई लाख १९ हजारभन्दा बढी हुन आउँछ ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीका अनुसार जिल्लामा चार वटा सरकारी अस्पताल, एउटा विशेषज्ञ क्यान्सर अस्पताल, एउटा सामुदायिक आँखा अस्पताल, दुई वटा मेडिकल कलेज र २१ वटा निजी अस्पताल रहेका छन् । यसका अतिरिक्त तीन वटा प्राथमिक स्वास्थ्य केन्द्र, ३६ वटा स्वास्थ्य चौकी, चार वटा आधारभूत आकस्मिक प्रसुती सेवा, २३ वटा प्रसुती केन्द्र रहेका छन् ।
जिल्लाका अस्पतालमा ३८६ जना विशेषज्ञ चिकित्सक, १७९ जना मेडिकल अधिकृत र १ हजार २६७ जना स्टाफनर्स कार्यरत रहेको तथ्यांक छ । भरतपुर आँखा अस्पतालका सूचना अधिकारी रमेश घिमिरेका अनुसार, त्यहाँ विशेषज्ञ चिकित्सक र आवासीय चिकित्सक गरी १४ जना, नेत्र अधिकृत र सहायक ३२ जना, नर्सिङ र आँखा उपचारमा तालिम प्राप्तहरु १५ जना कार्यरत रहेका छन् ।
चिकित्सक संघ चितवनका अध्यक्ष डा. प्रकाश खतिवडाका अनुसार, संघमा ३९७ जना सदस्य छन् । सदस्यता नलिएका सहित चिकित्सकको संख्या ५ सयभन्दा बढी रहेको उहाँको भनाई छ ।
जिल्लामा सबैभन्दा बढी भरतपुर अस्पतालमा बिरामीले सेवा लिने गरेको तथ्यांक छ । अस्पतालको तथ्यांक अनुसार देशका १९ जिल्लाका बिरामीले यहाँबाट सेवा लिने गरेका छन् । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार गत वर्ष बहिरंग सेवामा २ लाख ८० हजार २३३, आकस्मिकमा ३५ हजार ८३४, भर्ना बिरामी ६० हजार ८५२ रहेका थिए ।
जिल्लाका अस्पतालमा २ हजार ८८५ शैया क्षमता छ । जसमध्ये १९१ सघन र ६४ भेन्टिलेटर रहेका छन् । ती अस्पतालले अहिले ३२२ शैया आईसोलेसन सञ्चालन गरिरहेको तिवारीले जानकारी दिनुभयो ।
जिल्लामा सबैभन्दा ठूलो सरकारी अस्पताल भरतपुर हो भने प्रदेश र स्थानीय तहका बकुलहर अस्पताल, बघौडा अस्पताल र राप्ती अस्पताल छन् । बकुलहर अस्पताल प्रदेशस्तरीय हुँदैछ भने बघौडा र राप्ती स्थानीय तहको १५ शैयाको अस्पताल हुन् । बकुलहर अस्पताल हाल १५ शैयाको भए पनि ५० शैयाको हुने तिवारीले जानकारी दिनुभयो ।
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारी अस्पताल संघीय बनेसँगै अन्य अस्पतालको नेतृत्व लिने अवस्थामा पुगेको बताउनुभयो । कोभिड १९ मा भरतपुर अस्पतालको नेतृत्वमा उपचार भईरहेको छ । अस्पतालमा गत वर्ष प्रसुतीमा मात्रै १३ हजार ५४५ ले सेवा लिएका थिए । काठमाण्डौंको प्रसुतीगृहपछि सबैभन्दा बढी सेवा लिने भरतपुर अस्पताल हो ।
तिवारी छिमेकी जिल्लाहरुबाट विशेषज्ञ सेवा यहाँ पाईने भएकाले बिरामी उपचारका लागि आउने गरेको बताउनुहुन्छ । यहाँ अस्पताल धेरै भएकाले एक ठाउँमा उपचार नभए अन्यमा हुने भएकाले पनि बिरामीको रोजाई चितवन पर्ने गरेको छ । देशको मध्यभागमा रहेको र यातायातको सहज सुविधा भएकाले पनि बिरामी यहाँ आउने गर्दछन् ।
यहाँ रहेको वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा नेपालका सबैक्षेत्र र भारतबाट समेत बिरामी आउने गर्दछन् । अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार गत वर्ष उपचारका लागि आएका बिरामी मध्ये ५ हजार ७ सय ९८ जना क्यान्सरका रहेका थिए । अस्पतालमा आउने बिरामी देशभर र भारतीय सिमा क्षेत्रका छन् । गौतमका अनुसार गत साल झण्डैं ५ सय बिरामी भारतीय थिए ।
यस्तै यहाँको भरतपुर आँखा अस्पतालमा पनि देशका विभिन्न ठाउँबाट बिरामी उपचारका लागि आउने गर्दछन् । अस्पतालका अध्यक्ष कृष्णराज धरेलका अनुसार मुख्य अस्पताल, नौ वटा शाखा र शिविरहरुमार्फत् अस्पतालले सेवा दिंदै आएको छ ।
यहाँका अस्पतालहरुमा अझै समन्वयको अभावको कमी हुने गरेको छ । आफ्नो अस्पतालमा उपचार हुन नसके सिधै काठमाण्डौं पठाउने गरिन्छ । जसले गर्दा यहीका अन्य अस्पतालको सुविधा पनि बिरामीले पाउन सकेका हुँदैनन् । समन्वयात्मक रुपमा उपचार गर्न सके उपचारका लागि राजधानी काठमाण्डौं नै जानुपर्छ भन्ने सोचको अन्त्य गर्न सकिने छ ।