काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई बालुवाटारमा बोलाएर परामर्श गर्नुभएको छ ।

स्थायी कमिटीको जारी बैठक चौथो दिनमा पुग्दा पार्टीभित्रको सङ्कट गहिरिँदै गएपछि र राजीनामा माग्ने तहसम्म पुगेपछि प्रधानमन्त्रीले केही मन्त्री, मुख्यमन्त्री र आफूनिकट नेताहरूलाई बोलाएर छलफल गर्नुभएको हो ।
“प्रधानमन्त्रीले हामीलाई बोलाउनुभएको थियो । पार्टीको सङ्कटको साक्षी त हामी पनि छौं । तर, उहाँले कसरी अगाडि बढ्दा हुन्छ । सङ्कटको हल के हो ? व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर छलफल गर्न बोलाउनुभएको रहेछ,” छलफलपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भन्नुभयो ।

प्रधानमन्त्रीको अभिव्यक्ति सुन्दा पार्टीभित्र गम्भीर समस्या रहेको प्रतीत हुने भट्टराईले भजनई छ । “छलफलका क्रममा मैले प्रधानमन्त्रीलाई सङ्कट समाधान गर्ने ऐतिहासिक अवसर आएको छ । सङ्कटमै नेतृत्वको पहिचान र परीक्षण हुने भएकाले सुझबुझपूर्ण ढङ्गले अघि बढ्न सुझाव दिएँ,” भट्टराईले भन्नुभयो, “देशले दिएको अभिभारा पार्टीले पूरा गर्नुपर्छ ।”

उहाँले अहिलको अवस्थामा पार्टीको एकतालाई बचाउनु र मजबुत बनाउनुको विकल्प नरहेको अधिकांश सहभागीको मत भएको बताउनुभयो ।

“नेताहरूको बीचमा विश्वास धमिल्लिएको रहेछ । कति हदसम्म सङ्कट पनि होला । एकआपसका शङ्का, अविश्वास, मनमुटाव खुला खुलस्त छलफल गर्नुपर्‍यो । प्रधानमन्त्रीले पनि उदारता देखाउनुपर्‍यो,” भट्टराईले छलफलका क्रममा उठेका कुरा उद्धृत गगर्नुभयो, “एक अर्कालाई आरोपित गरेर, तिक्तता बढाएर हल हुँदैन । यो सस्या समाधान गर्ने दायित्व नेकपाकै हो । कुनै विदेशीले आएर समाधान खोजिदिने, अरू पार्टीले पहलकदमी लिइदिने कुरा होइन ।”

अहिलेको समस्या, सङ्कट व्यवस्थापनको मुख्य भूमिका प्रधानमन्त्री कै भएकाले वृहत–विहङ्गम छलफल नै अहिलेको निकास भएको मन्त्रीहरूले बताएका थिए ।

“नेताहरूको मन कतै भाँच्चिएको छ कि, कतै दुखेको छ कि, ठेस पुर्‍याइएको छ कि तपाईंहरू बसेर समाधान खोज्नुस् भनेर मैले पनि सुझाव दिएँ । त्यसमा प्रधानमन्त्रीको जवाफ सकारात्मक थियो,” भट्टराईले भन्नुभयो, “प्रधानमन्त्रीलाई मैले थप तपाईंका बाध्यता, जटिलता के–के छन्, खुला खुलस्त बैठकमा राख्नुस्, जानकारी गराउनुस् भनेर पनि भनेँ । अरूले पनि त्यसैमा जोड दिनुभएको थियो ।”

पार्टीमा प्रोक्सी वार गरेर, झैझगडा बढाएर हल नहुने भन्दै दर्बिलो एकताबाहेक अहिलेको चुनौती व्यवस्थापनको कुनै बनिबनाउ सूत्र नभएको भट्टराईको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस !