
चितवनः कोभिड १९ नियन्त्रणका लागि लकडाउनको बाध्यता संगै मदिराजन्य बस्तुको ओसारपसार र खपत घटेपछि आन्तरिक राजस्व कार्यालय भरतपुरले लक्ष्य लिएको भन्दा रु १८ अर्ब १२ करोड ८४ लाख अन्तरशुल्कमा गिरावट आएको छ । यस कार्यालयले जेठ मसान्त सम्ममा अन्तशुल्कमा मात्र रु ३६ अर्ब ४ करोड ९२ लाख १३ हजार राजस्व अशुल गर्ने लक्ष्य लिएकोमा रु १७ अर्ब ९२ करोड ८ लाख ८ हजार मात्र राजस्व संकलन भएको छ ।
कार्यालयले दिएको जानकारी अनुसार अन्तशूल्कको लक्ष्यको ४९ दशमलब ७१ प्रतिशत मात्र राजस्व संकलन भएको छ । जेठ मसान्त सम्ममा कुल राजस्व संकलन रु ४० अर्ब ५८ करोड ५५ लाख ६२ हजार हुने लक्ष्य राखिएकोमा रु २१ अर्ब ६१ करोड ६ लाख २३ हजार मात्र संकलन भएको छ । जुन लक्ष्यको ५३ दशमलब २५ प्रतिशत मात्र हुन आउँछ । कुल लक्ष्य भन्दा रु १८अर्ब ९७ करोड ४९ लाख ३९ हजार कम राजस्व उठेको हो ।
जेठ महिनामा मात्र अन्तशुल्कबाट रु ५ अर्ब २५ करोड १३ लाख ६९ हजार राजस्व उठाउने लक्ष्य राखिएकोमा रु १ अर्ब १० करोड ५३ लाख ४९ हजार राजस्व संकलन भएको कार्यालयले जानकारी दिएको छ । अन्तशुल्कमा धेरै राजस्व संकलन हुने गर्दछ । यस अन्तर्गत बियर, मदिरा, सुर्ती जन्य, पेन्ट्स, सिमेन्ट, हल्का पेय पदार्थ, फलामको निर्माण सामाग्री, ग्रील, चाउचाउ, दालमोठ, भूजिया जस्ता सामाग्री पर्दछन् । यस कार्यालयले चितवन र नवलपरासीको त्रिवेणी–सुस्ता पूर्बको भाग हेर्दै आएको छ । यस क्षेत्रमा ७ वटा मदिरा र ६ वटा बियर उद्योग रहेका छन् ।
कार्यालयका प्रमुख सुब प्रसाद रिजालका अनुसार अन्तशुल्कमा बिभिन्न सामाग्री पर्ने भए पनि अधिकांश हिस्सा बियर र मदिराले ओगट्ने गर्दछ । गतवर्षको जेठ मसान्त सम्ममा अन्तशूल्क रु २४ अर्ब ७२ करोड ७२ लाख ३१ हजार संकलन भएको थियो ।, जुन लक्ष्यको १ सय ४ प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७४÷०७५मा पनि जेठ सम्ममा अन्तशुल्क रु १७ अर्ब २ करोड ८३ लाख ९९ हजार संकलन भएको थियो । जुन लक्ष्यको १ सय १५ दशमलब ९६ प्रतिशत राजस्व संकलन भएको उहाँको भनाई छ । यस वर्षको असार मसान्त सम्ममा अन्तशुल्कमा रु ३७ अर्ब ९४ करोड ४४ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेको छ । रिजालले यस वर्ष पनि लकडाउन नभएको भए लक्ष्य वरपरनै राजस्व उठ्ने भए पनि प्रभावित वनेको बताउनुभयो ।
मदिरा जन्य वस्तु बिक्रि बितरण, निस्कासन र ढुवानी रोकीएकै कारण राजस्वमा मूख्य प्रभाव भएको उहाँको भनाई छ । शिलवन्दि मदिरा र बियर वजारमा उपलव्ध नहुँदा अबैध मदिराको खपत वढेको व्यवसायीहरुले जनाउँदै आएका छन् । रिजालले भन्नुभयो “व्यवसायीहरुले भने जस्तो हो भने बियर र मदिरा वजारमा जान नपाउँदा राजस्व र मानव स्वास्थ्यमा असर परेको छ ।” उहाँले थप्नुभयो “कोभिड १९ नियन्त्रणका लागि लकडाउनको बिकल्प नभएकै कारण लकडाउन गर्नु परेको हो ।” राजस्व भन्दा मानव स्वास्थ्य ठूलो भएको भन्दै उहाँले लकडाउन खुकुलो हुँदै जाँदा राजस्व संकलन वढ्दै जाने बताउनुभयो । लकडाउनकै कारण कोरोना संक्रमण समुदायमा फैलनबाट धेरै रोकीएको छ ।
यस कार्यालय अन्तर्गत व्यवसायी प्यानमा ६५ हजार ८ सय ५३, व्यक्तिगत प्यानमा ८३ हजार ८७ र सरकारी कार्यालयको प्यान डव्लु प्यानमा ५४ करदाता रहेका छन् ।