चितवनः लकडाउनको समयमा दुईजना विरुद्ध आत्महत्या दुरुत्साहन को मुद्दा दर्ता गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनमा आत्महत्या दुरुत्साहनका दुईवटा घटना दर्ता भएका छन् । गत जेठ २१ गते भरतपुर महानगरपालिका २१ रतनपुरकी एक महिलाले विष सेवन गरी आत्महत्या गरेकी थिइन् । पतिले आत्महत्या गर्न बाध्य पारेकोे भन्दै मृतकका माइती पक्षले “आत्महत्या दुरुत्साहन” को किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरी अदालतको आदेशमा कारागार पठाइएको प्रहरी प्रमुख गुरुङले जानकारी दिनुभयो ।

यस्तै सोही महिनाकै २९ गते भरतपुर महानगरपालिका १२ की एक महिलाले झुन्डिएर आत्महत्या गरेकी थिइन् । पत्नीलाई झुन्डिएर आत्महत्या गर्न बाध्य पारेकोे भन्दै मृतकका माइती पक्षले “आत्महत्या दुरुत्साहन” को किटानी जाहेरी दिएका थिए । ती व्यक्तिलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान भइरहेको गुरुङले बताउनुभयो ।
यसै बिच लकडाउनको अवधिमा देशभर आत्महत्या गर्नेको संख्या बढेसंँगै चितवनमा पनि यसको संख्या बढेको तथ्यांक सार्वजनिक भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको तथ्यांकअनुसार लकडाउन सुरु भएयता जेठ मसान्तसम्म चितवनमा ४२ जनाले आत्महत्या गरेका छन् । तर चालु आर्थिक वर्ष ०७६–७७ को साउनदेखि फागुनसम्म ७२ जनाले आत्महत्या गरेको तथ्यांक छ ।
कार्यालयका अनुसार लकडाउनको पहिलो महिना चैतमा मात्रै १४, वैशाखमा १८ र जेठमा १० जनाले आत्महत्या गरेका छन् । लकडाउनको समयमा सबैभन्दा बढी वैशाखमा आत्महत्या गर्नेको संख्या धेरै छ । यीमध्ये अधिकांश घटना भरतपुर महानगरपालिकाभित्रका छन् ।

४२ जनामध्ये भरतपुर महानगरपालिकामा मात्र सो अवधिमा २३ जनाले आत्महत्या गरेका छन् । यस्तै रत्ननगर नगरपालिकामा ११, कालिका नगरपालिकामा तीन, माडी नगरपालिकामा तीन र इच्छाकामना गाउँपालिकामा दुईजनाले आत्महत्या गरेका हुन् ।

आत्महत्या गर्नेमा सबैभन्दा बढी पुरुष छन् । जसमध्ये २२ पुरुष १७ महिला, १ बालक र २ बालिका छन् । गत आव ०७५–७६ मा १५७ जनाले आत्महत्या गरेको तथ्यांक छ ।

गत आवको तुलनामा यस वर्ष आत्महत्याका घटना कम भए पनि लकडाउनको समयमा आत्महत्याका घटना बढेकोे प्रहरी उपरीक्षक नान्ती गुरुङले जानकारी दिए । आत्महत्या गर्नेमा वयस्क उमेर समूहका व्यक्ति बढी छन् ।

अन्य अवस्थामा आत्महत्या गर्नेको संख्या कम भए पनि लकडाउनमा यसको संख्यामा अनेपेक्षित वृद्धि भएको उनले बताए । “लकडाउन कारण उत्पत्ति भएको आर्थिक अभाव, बिछोड, घरायसी झगडाकै कारण आत्महत्याको संख्या बढेको अनुसन्धानले देखाएको छ,” गुरुङले भन्नुभयो । उहाँका अनुसार बन्दाबन्दीमा बस्नुपर्दा मानिसहरू स्वतन्त्र हुन नपाएको, कोरोना त्रासको अनिश्चितता र निराशपनको कारणले आत्महत्याको दर बढेको हो ।
लकडाउनका कारण प्रेमसम्बन्ध, घरेलु हिंसा, बढेसंँगै मानिसले आवेशमा आएर पनि आत्महत्याको बाटो अपनाउन सक्छन् ।

प्रतिक्रिया दिनुहोस !