चितवनः कालिका नगरपालिकाको छैठौं नगर सभा आजदेखि सुरु भएको छ । नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले सरोकारवालाहरुका बीच नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । यो वर्ष नगरपालिकाले कोरोना कोभिड १९ को महामारीको जोखिमबाट नगरबासीलाई सुरक्षित गर्ने कार्यलाई प्रमुख प्राथमिकतामा राखेको छ । महामारी नियन्त्रणका लागि नगरपालिकाले आफ्नो सम्पूर्ण सामथ्र्य प्रयोग गर्ने आफ्नो नीति तथा कार्यक्रममै समावेश गरेको छ । कोरोनाका कारण रोजगारी गुमाएका वा वैदेशिक रोजगारी गुमाई घर फर्किएका नागरिकलाई रोजगारी सिर्जना गर्ने कार्यलाई भने आगामी वर्षको प्राथमिकतामा रहने समेत नीति तथा कार्यक्रममा भनिएको छ ।

यसैबीच भूमीहीन र विपन्न जनताका लागि संघीय सरकार र प्रदेश सरकारसँग समन्वय गरी भूमिहीन बाढी पिडीत र अव्यवस्थि रुपमा बसोबास गरिरहेका जनताको आवासको हक सुनिश्चित गर्ने नीति अबलम्बन गरिने नीति तथा कार्यक्रममा भनिएको छ । नगरपालिकाले यो वर्षपनि जनताका लागि मेयर आवास कार्यक्रमलाई निरन्तरा दिएको छ । सहरीकरणलाई व्यवस्थित गर्न खुल्ला स्थानहरुको प्रयाप्त व्यवस्था गरी खुल्ला पार्कहरुलाई सार्वजनिक खुल्ला व्यायमशालाको रुपमा विकास गर्ने र विस्तार गर्दै लैजाने कार्यक्रमलाई यो वर्ष थप गरेको छ । सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्ने जस्ता कार्यक्रम यो वर्षपनि संचालन गरिनेछ ।

नगरपालिकाले यो वर्ष आर्थिक विकास कार्यक्रम अन्तर्गत कृषि, उद्योग, बाणिज्य, पर्यटन, सहकारी र वित्तिय क्षेत्रलाई समेत प्राथमिकतामा राखेको छ । कोरोना महामारीका कारण विदेशवाट फर्किएका युवाहरुका लागि कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्ने नीति लिएको छ । यस्तै कृषि उद्यमलाई प्रोत्साहन गर्न समुदायमा आधारित बजार व्यवस्थापन गर्ने, नगरस्तिरीय विक्री केन्द्रहरुको स्थापना र संचालन गर्ने नीति छ । कृषि क्षेत्र अन्तर्गत नै नयाँ प्रविधिमा आधारित माछापालनका लागि इच्छुक कृषकहरुलाई तालिमको व्यवस्था गरी प्रविधिमा अनुदानको व्यवस्था गरी माछापालनलाई आकर्षक व्यवसायको रुपमा विकास गर्ने नीति छ । यस्तै नगरपालिकाको सामाजिक विकास तर्फ खेलकुद, संस्कृति प्रवद्र्धन, खानेपानी, स्वास्थ्य तथा लैङ्गिक सामानता र सामाजिक समावेशीकरणको नीतिलाई यो वर्ष पनि प्राथमिकतामै राखिएको छ ।

विपन्न तथा दलित छात्र छात्रालाई उच्च प्राविधि शिक्षामा अनुदान दिने, व्यवसायिक शिक्षामा जोड दिँदै जेहेन्दार तथा विपन्न छात्रवृतिका कार्यक्रम संचालनत गर्ने र आवासीय छात्राबासको व्यवस्था गरी शिक्षामा पहुँच विस्तार गर्ने नीतिलाई निरन्तरता दिइएको छ । प्रदेश सभासंग समन्वय गरी क्याम्पस संचालनका लागि पहल गर्ने नगरको योजना छ । यसैबीच पूर्वाधार विकास तर्फ उर्जा, संचार, स्थानीय सडक पुल, सिंचाई, खानेपानी पूर्वाधार, भवन तथा सहरी विकासका कार्यक्रमलाई पनि यो वर्ष नगरले आफ्नो नीति तथा कार्यक्रममा प्राथमिकतामै राखेर समावेश गरेको छ । नगरपालिकाले सडकको स्थानीय मापदण्ड तयार गरी लागु गर्ने भनेको छ । स्थानीय सडकलाई अभिलेखीकरण गरी सडकको अधिकारक्षेत्र छुट्टाई सडक किनारमा फूटपाथ निर्माण र हरियाली बनाउने गुरुयोजना तयार गर्दै अगाडी बढ्ने नीति छ ।

नगरपालिकाले चक्रपथ निर्माण तथा नगरभित्रका सहायक सडकहरुलाई मुख्य सडक संजालसँग जोड्ने कार्यलाई प्राथमिकता दिएको छ । सबै सडकहरु कालोपत्रे गर्दै लगिनेछ । पहाडी मार्ग निर्माणलाई प्राथमिकता दिइनेछ । सबै वडाहरुबाट माग भएका आयोजनाहरुको सुचीकरण गरी योजना बैंक तयार गर्ने र आगामी आर्थिक वर्षहरुमा सोही योजना बैंकबाट आयोजना छनौट गरी कार्यान्वयन गर्दै लैजाने गरी विकासको योजना तयार गरिनेछ । यस्तै निमार्ण सामाग्रीहरुको गुणस्तर सुनिश्चित गर्न निर्माण सम्बन्धी एक आधुनिक प्रविधियुक्त प्रयोगशाला स्थापना र संचालन गरिनेछ । यस्तै कयरखोला र सिन्ती खोलामा पक्की पुल निर्माण गरी दुर्गम भौगोलिक अवस्था भएको वडा नं. १० र ११ लाई यातायात प्रणालीमा जोड्ने कार्यक्रमलाई कार्यान्वयन गर्ने योजना छ । खगेरी खोलामा पुल निर्माण गरी भरतपुर महानगरपालिका सम्मको आवागमनलाई थप सहज तुल्याईनेछ ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य कृष्णभक्त पोखरेलले मानवजीवनको रक्षा कसरी गर्ने पहिलो कर्तव्यको रुपमा आइरहेकोले सोही अनुसारका योजान ल्याउन सुझाव दिएका छन् । केन्द्र देखि स्थानीय तह सम्मले मानवजीवन रक्षाका कार्यक्रमलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बेला आएको बताए । कोरोना कोभिड १९ लाई लक्षित गरेर कालिकाले व्यवस्थापन गरेको क्वारिन्टनको प्रशंसा गर्दै प्रतिनिधि सभा सदस्य पोखरेलले अन्य विकासका काममा पनि यसैगरी एकजुट भएर लाग्न सबैलाई सुझाव दिए ।
नगरसभाको प्रमुख अतिथि समेत रहेका सांसद पोखरेलले कृषि क्षेत्रमा मात्रै १ करोड ४ लाख रुपैयाँ कालिका नगरपालिकाको लागि बजेट विनियोजन गरिएको बताए । ‘केन्द्रीय योजना र प्रदेश सरकारका योजना बाहेक यो रकम विनियोजन गरिएको हो’ उनले भने । समग्रमा कालिका नगरपालिकाले ८० करोड रुपैयाँको बजेट पाउँने बताए । खासगरी विदेशवाट महामारीका कारण घर फर्कीकाहरुलाई नेपालमै स्वरोजगार बनाउन ६३ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । यो रकम उनीहरुलाई तालिम दिएर दक्ष बनाउनका लागि खर्च गर्ने गरी विनियोजन गरिएको बताए ।

यसैगरी कालिका नगरपालिकामा स्वास्थ्य क्षेत्रको विकासका लागि २ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यो केन्द्रीय सरकारले छुट्याएको बजेट हो । कार्यक्रममा प्रदेश सांसद घनश्याम दाहाल अविनाशले जनताको जीवनलाई कसरी सुरक्षित गर्ने विषयमा प्रदेश सरकार गम्भीर रहेको बताए । उनले सोही अनुसारको नीति तथा कार्यक्रमलाई प्रदेशले प्राथमिकतामा राखेको जानकारी दिए । जनतालाई रोजगारीको व्यवस्थापन सम्म कसरी लैजाने विषयमा हाम्रा योजना तथा नीति केन्द्रीत छ उनले भने । सबै स्थानीय तह सम्म पिसिआर रिपोर्ट पाउने वातावरण देखि बाल मृत्युदर घटाउने योजनाहरु प्रदेश सभाले प्राथमिकतामा राखेको जानकारी दिए । प्रदेश सांसद दाहालले स्वास्थ्य तथा सामाजिक क्षेत्र अन्तर्गत संवेदनशील रोगमा १ लाख बराबरको सहयोग पाउँदै आएका विरामीले थप ५० हजार रुपैयाँ पाउने छन् ।

वागमती प्रदेश भित्रका विरामीले यो सेवा पाउने उनले बताए । यस्तै बुबा आमा नभएका बालबालिकाहरुलाई प्रति महिना २ हजार रुपैयाँ सहयोग पाउनेछन् । यो पटक एक स्कुल एक नर्स कार्यक्रमलाई प्रदेशसभाले निरन्तरता दिएको छ । जस अनुसार कालिका नगरपालिकामा यो कार्यक्रम २ वटा स्कुलमा थप गरिएको जानकारी दिए । यस अघि २ वटा स्कुलमा यो कार्यक्रम संचालनमा थियो । यस्तै प्रदेशहरुमा आवाशीय स्कुलहरु बनाउने क्रममा कालिका नगरपालिकामा १ वटा आवाशीय स्कुल बनाउने योजना छ । ‘पहिला देखिकै योजना हो सांसद दाहालले’ भने । चेपाङ समुदायलाई लक्षित गरेर संचालन गर्ने विषयमा छलफल जारी रहेको उनले बताए । आगामी नगरपरिषदको बैठक असार १० गते बस्ने छ ।

प्रतिक्रिया दिनुहोस !