चितनवः पूर्बी चितवनको रामपुरमा निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणार्थ संचालन गरिएको धनधान्याचल महोत्सवमा संकलन भएको रकम हस्तान्तरण गरिएको छ । आज रंगशाला निर्माणस्थलमा आयोजित कार्यक्रममा महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक तथा बाग्मती प्रदेशका सांसद विजय सुवेदीले धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसलाई संकलन भएको रकम हस्तान्तरण गर्नुभएको हो ।

महायज्ञमा बोलकबोल भएको ६९ करोड ४० लाख ५६ हजार ९ सय १९ रुपैंया ६८ पैसा रकम मध्य नगद संकलन भएको ७ करोड १४ लाख ५६ हजार ६ सय ८४ रुपैंयाको चेक हस्तान्तरण गरिएको महायज्ञ आयोजक मूल समारोह समितिका महासचिव दिनेश कुमार चुकेले जानकारी दिनुभयो ।

प्रदेश र स्थानिय तहले घोषणा गरेको ५१ करोड ९२ लाख ६५ हजार २ सय ६३ रुपैंया रकम उठ्न बाँकी छ । महायज्ञमार्फत २८ हजार दाताले रंगशाला निर्माणका लागि सहयोग गरेको महायज्ञ आयोजक मूल समारोह समितिका महासचिव दिनेश कुमार चुकेले वताउनुभयो । उहाँले ७ बर्षदेखि १ सय २ बर्ष सम्मका नागरिकले दान गरेको बताउनुभयो ।

महायज्ञमा निजी क्षेत्र,संघसस्था र नागरिकका तर्फबाट १७ करोड ४६ लाख रुपैंया सहयोगको घोषणा गरिएको समितिले जनाएको छ । यस्तै प्रदेश सरकारले ३० करोड, भरतपुर महानगरपालिकाले १६ करोड ७५ लाख, जिल्ला समन्वय समितिले २ करोड २२ लाख रुपैंया सहयोग गर्ने घोषणा गरेका थिए । अन्य स्थानिय तहले पनि सहयोगको घोषणा गरेका थिए ।

प्रदेश सरकारले प्रदान गर्ने ३० करोड रुपैंया बहुबर्षिय टेण्डर प्रकृया अन्तर्गत रहेर काम अघि बढाइने बाग्मती प्रदेशका सांसद विजय सुवेदीले जानकारी दिनुभयो । उहाँले महानगरपालिकाबाट प्रदान गर्ने रकमका सम्बन्धमा केही कानुनी जटिलता उत्पन्न भएकाले त्यसलाई सामाधान गर्दै रंगशाला निर्माणका लागि खर्च गरिने बताउनुभयो ।

सो हस्तान्तरण कार्यक्रममा धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले दाताहरुलाई महायज्ञमा बोले अनुसारको रकम सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले बन्दाबन्दीका कारण रंगशाला निर्माणको काम प्रभावित भएपनि भित्रभित्रै काम गरिरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !