चितवनः वि. सं. २०६२ साल जेठ २३ गते माडीको कल्याणपुरमा रहेको बाँदरमुढे खोलामा भएको विस्फोटका कारण पिडित वनेकाहरुको गुनासो अहिले पनि उस्तै छ । सशस्त्र संघर्षका बेला माडीको बाँदरमुढेमा माओवादीले विद्युतीय धराप विष्फोट गराउँदा ४१ जनाले ज्यान गुमाएका थिए भने ७५ जना घाइते भएका थिए ।
आज घटनाको १५ वर्ष पूरा पुरा भएको छ । हरेक वर्ष झै यस वर्ष पनि पिडित परिवारले घटना स्थलमा धुपवत्ति वालेर मृतकहरुको सम्झना गरेका छन् । बाँदरमुढे घटना पीडित समितिका अध्यक्ष मुक्तिनाथ न्यौपानेले बिगतका वर्षहरुको निरन्तरता दिने काम मात्र गरिएको बताउनु भयो । लकडाउनका कारण सम्भव भएका सम्मलाई बोलाएर दिप प्रज्वलन गरीएको छ । घटना भएको १५ वर्ष पुग्दा पिडितहरु न्यायको लडाईमा लागि रहेका छन् ।
लामो समय देखि न्यायको माग गर्दै आन्दोलन गरिरहेको र सुनुवाई हुन नसकेको उनीहरुको भनाई छ । अध्यक्ष न्यौपानेले आँफुहरुले दोशीलाई कानुनी कठघरामा उभ्याउन र पिडितलाई परिपुरणको व्यवस्था गर्न माग गर्दै आएको भए पनि अहिले सम्म सुनुवाई हुन नसकेको बताउनु भयो । घटना स्थलको स्मारक समेत ढल्ने अबस्थामा पुगेको भन्दै उहाँले राज्यका तर्फबाट पिडित परिवारले केहि पाउन नसकेको गुनासो गर्नु भयो ।
घटनामा घाईते भएका १५ जनाले अहिले पनि औषधि खाई रहेको र सात जना मानसिक समस्यामा रहेको न्यौपानेको भनाई छ । समितिका उपाध्यक्ष कृष्ण प्रसाद अधिकारीले सोहि क्षेत्रबाट पुुष्पकमल दाहालले निर्वाचन जित्दा समेत पिडितहरुले न्याय नपाउनु दुखत भएको बताउनु भयो । पिडित बिचको एकता भंग भएर त्रासको वातावरण सृजना भएको उहाँको गुनासो छ ।
सो घटनाका घाइतेहरू अझै पनि न्यायको आशामा छन् भने माडीमै आएर निर्वाचन जिते पनि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एबं हाल नेकपाका अध्यक्ष पुष्पकमल दाहालको व्यवहारले पीडितहरू दुःखित भएको उहाँले जानकारी दिनुभयो । आस देखाएर त्रासमा राख्ने काम गरिएको उहाँले बताउनु भयो । दोशी करार गर्नुपर्ने व्याक्तिहरु अहिले राज्य संञ्चालनमा रहेको भन्दै उहाँले
“घटना भएदेखि नै हामीले तीन कुरा भन्दै आएका छौं, घटनाको सत्यतथ्य सार्वजनिक होस्, दोषीमाथि कारवाही होस्, घटनामा मृत्यु भएका व्यक्तिका परिवार र अपाङ्ग भएकालाई जीवन धान्ने उपाय दिइयोस्” अधिकारीले भन्नुभयो । तर उनीहरुको कुनै पनि माग पुरा हुन सकेको छैन । आफ्नो माग पुरा नभए सम्म आन्दोलन जारी रहेको उहाँको भनाई थियो ।
२०६२ साल जेठ २३ गते बिहान यात्रुले खचाखच भरिएको बसलाई लक्षित गरी विद्युतीय धराप विष्फोट गराइएको थियो। घटना लगत्तै माओवादी अध्यक्ष दाहालले जनयुद्ध कालकै ठूलो गल्ती भन्दै दुःख व्यक्त गर्दै क्षमायाचना गर्नुभएको थियो । अनुकूल समयमा माडीमै आएर क्षमा माग्ने उहाँले बताएउनु भएको थियो । तर अहिले त्यहि माडीका जनताले मत दिएर जिताए पनि त्यहाँका पिडितका पिडा उस्तै छन् ।
सरकारले गठन गरेको सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता व्याक्ति छानबिन आयोगलाई समेत प्रभावकारी रुपमा काम गर्न नदिएको उनीहरुको आरोप छ । वाहिर देशलाई देखाउनका लागि मात्रै आयोग गठन गरेको भन्दै उनिहरु आक्रोशित छन् । घटना घटाउने पिडकलाई दुःखको महशुश नभएको भन्दै उनीहरु आक्रोशित छन् ।
बाँदरमुढे घटनापछि दाहाल २०६९ फागुन १७ गते माडी महोत्सव उद्घाटन गर्न हेलिकोप्टर चढेर आएका बेला पीडितले विरोध प्रदर्शन गरेका थिए । तर, दाहालले पीडितलाई नभेटे पनि त्यो बेला बाँदरमुढे घटनाका पीडितलाई सरकारले ६० लाख रुपैयाँको राहतको व्यवस्था गरेको बताउनु भएको थियो । सो घोषणा अझै कार्यन्वयमा आएको छैन ।
सरकारसँग शान्ती सम्झौता हुनु अघि ६३ सालको कात्तिक ३ गते दाहाल, बाबुराम भट्टराई र रामबहादुर थापा बादल सहितका नेताहरूको टोलीले बाँदरमुढे घटनाका पीडितसँग भरतपुर नजिकको गाउँ फूलबारीमा भेटघाट गरेको थियो । सो भेटघाटका अवसरमा नेताहरूले राहतको प्याकेजसहित माफी माग्न चाँडै माडी आउने प्रतिबद्धता जनाएका थिए ।
सत्य निरूपण आयोगको टोली माडी पुगेर घटनाबारे पीडितसँग बुझेको थियो । खुला ठाउँमा माओवादीसँग राखेर छलफल गराएको भन्दै पीडित आक्रोशित भएका थिए । न्यायको आशा मर्दै गएको र पीडितलाई शत्रुको जस्तो व्यवहार गर्ने परिपाटी माओवादीले राखेका कारण आफूहरू सधैं चिन्तित हुने गरेको अर्का पिडित यमनाथ सुवेदीले बताउनुभयो ।
यता नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष दाहालका निर्वाचन क्षेत्र हेर्दै आउनु भएकी सचिब निशा न्यौपानेले संघिय सरकारबाट स्मारक निर्माणका लागि पहल भईरहेको र आउँदो कात्र्तिकमा शिलन्यास समेत गरिने जानकारी दिनुभयो ।
घटनाका पिडित परिवारका लागि माडी नगरपालिकाले स्वारोजगकारका लागि प्रति परिवार रु १ लाख विनियोजन गरि बितरण गरिरहेको छ । चालु आर्थिक वर्षमा ३५ परिवारका लागि वजेट बिनियोजन गरिएकोमा २५ परिवारले अनुदान रकम निकासा गरिसकेको नगरपालिकाका प्रमुख ठाकुर ढकालले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा पनि २५ परिवारलाई अनुदान दिईएको उहाँले बताउनुभयो ।
घाईते तथा अपाङ्गका बालबालिकाको उच्च शिक्षाका लागि १२ कक्षा सम्म नगरपालिकाले निःशुल्क पठन पाठनको व्यवस्था गरेको उहाँको भनाई छ । घाईतेको उपचारको हकमा बाँदरमुढे घटना पिडित भएको परिचय पत्रका आधारमा बघौडा अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा दिदै आएको प्रमुख ढकालले जानकारी दिनुभयो ।