काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीलाई विज्ञहरुले परीक्षणको दायरा फराकिलो बनाउन सुझाव दिएका छन् । प्रधानमन्त्री ओलीले विज्ञहरुसँग बालुवाटारमा पाँचघण्टा छलफल गर्नुभएको थियो ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले प्रधानमन्त्री ओलीले विज्ञ समूहको टोली बनाउने आश्वासन दिएको बताउनुभयो ।
स्वास्थ्यविद् डा. समीरमणि दीक्षितले आफूले प्रधानमन्त्रीलाई परीक्षणको दायरा बढाउन सुझाव दिएको जानकारी दिनुभयो ।

“मैले प्रधानमन्त्रीलाई तपाइँले कोरोनाका सम्बन्धमा बोसीय तत्वको विषयमा दिएको धारणामा अध्ययन पुगेन भनेर भनेँ,” डा. दीक्षितले पत्रकारहरूसँग भन्नुभयो, “कोरोना सम्बन्धी तपाइँको अध्ययन पुगेन । सरकारले परीक्षणको दायरा बढाउनैपर्‍यो । सरकारी अस्पतालले नसके निजीलाई पनि परीक्षणको जिम्मा दिनुपर्छ ।”
अर्का जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाव दिनुभयो । “लकडाउनलाई अनन्तकालसम्म लम्ब्याउन पनि सकिँदैन । पहिलो चरणमा खाद्यान्न पसलहरु, सेवामूलक क्षेत्रहरु खोल्नुपर्छ । आर्थिक क्रियाकलाप पनि गर्न दिनुपर्छ,” उहाँको सुझाव थियो, “स्कुल कलेजहरु केही पछि खोल्दा हुन्छ । तर लकडाउनको अहिलेको मोडालिटी परिवर्तन हुनैपर्छ । अहिलेको अवस्था नफेर्ने हो भने अवस्था डामाडोल हुन सक्छ ।”

उहाँले अस्पतालमा कोरोना देखिनासाथ अस्पताल नै सिल गर्ने काम बन्द गरिनुपर्ने सुझाव दिनुभएको थियो। क्वारेन्टाइनमा मान्छे मर्नु भनेको अत्यन्तै नकारात्मक सन्देश जानु भएकाले पहिले क्वारेन्टाइनको सुधार गर्नुपर्ने सुझाव दिएका थिए । उहाँले पनि परीक्षणको दायरा बढाउनुपर्ने सुझाव दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !