चितवनः भरतपुर महानगरपालिकाको दुइ वटा सडकमा साइकल लेन निर्माण गर्न थालिएको छ । चालु आर्थिक वर्षको जेठ देखि २०७८ बैशाख महिना भित्र निर्माण सम्पन्न हुने गरी २ दशमलब ५ किलोमिटर लम्वाइको साइकल लेन निर्माण गर्न थालिएको हो । भरतपुरलाई स्मार्ट सिटी बनाउने अवधारणा अनुरुप साइकल लेन निर्माण गर्ने काम सुरु गरिएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिनु भयो । अब बन्ने फराकीला सडकहरुमा साइृकल लेन बनाईने दाहालको भनाई छ ।
साइकल लेनको महानगर प्रमुख रेनु दाहालले आज सिलान्यास गर्नु भएको छ । वडा नं. ७ मा उहाँले सिलान्यास गर्नु भएको हो । पहिलो चरणमा दुइवटा सडकमा लेन निर्माण गर्न लागिएको दाहालले बताउनु भयो । उहाँका अनुसार महानगरपालिकाको वडा नं. ७ र ९ मा साइकल लेन निर्माण कार्यको लागि ठेक्का सम्झौता भइसकेको छ ।
महानगरपालिका सिनियर डिभिजन इन्जिनियर रत्न लामिछानेले भन्नुभयो “वडा नं. ९ मा रु २ करोड २५ लाख खर्च लाग्ने अनुमान गरिएको छ भने वडा नं. ७ मा रु ३ करोड ६४ लाखमा ठेक्का सम्झौता भएर काम सुरु भएको छ ।” काम पूरा हुँदा रु ९ करोड भन्दा धेरै लाग्ने अनुमान गरिएको छ ।
साइकल लेन निर्माण हुने सडक वडा नं. ७ को प्रेमवस्ती चोकदेखि हेल्थपोष्ट चोकसम्म हुने छ । त्यस्तै गरी वडा नं. ९ को हाकिमचोकको क्यान्सर अस्पताल जाने कल्भटदेखि जयनेपाल (धारेचोक) सम्म साइकल लेन निर्माण हुनेछ ।
१६ मिटर चौडाइ रहेको ती सडकको दायाँ वायाँ दुइ÷दुइ मिटर चौडाइ भएको साइकल लेन निर्माण गरिनेछ । यो लेन कालोपत्रे र फुटपाथको बिच भागमा हुनेछ । लेनमा मोजाइक टायल विछ्याईने छ । विद्युतका पोललाई भने फुटपाथको छेउमा सारीने इन्जिनियर लामिछानेले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस !