चितवनः स्थानीय तहमा बाहिरबाट आएका मानिस बस्न वनाईएका कतिपय क्वारेन्टाइन भाराटार्ने खालका मात्र भएका छन् । स्थानीय स्कुल भवन देखाएर मात्रै क्वारेन्टाईन भन्ने गरेको पाईएको छ ।
जिल्लाका स्थानीय तहहरुमा एक वडा एक क्वारेन्टाइन वनाउने निर्णय भएको छ । सात स्थानीय तहमा ९८ वटा वडाहरु रहेका छन् । माडी नगरपालिकाले वडा संख्या भन्दा २ वटा बढि क्वारेन्टाईन वनाएको भए पनि कतिपयले एउटा वडामा एउटा क्वारेन्टाइन वनाउन सकेका छैनन् ।
भरतपुर महानगरपालिका वडा नम्बर २८ का वडा अध्यक्ष आस वहादुर कुमालले स्थानीय सरस्वती माविलाई क्वारेन्टाइन वनाएको बताउनुभयो । आफ्नै घरबाट गुन्द्रि, कम्मल, झुल, तन्ना ल्याउन भनिएको उहाँको भनाई छ । खाना पनि घरबाटै ल्याउन लगाईएको छ । क्वारेन्टाइनमा हाल ८ जना छन् । दुई जना बाटोमा आउँदै गरेको र चार जना सुनौलमा आई सकेको उहाँले जानकारी दिनुभयो । स्कुलका वेन्च जोडेर सुत्न उनीहरु बाध्य छन् । जिल्लाका कतिपय वडाहरुको अबस्था पनि यस्तै रहेको पाईएको छ ।
तर भरतपुर महानगरपालिका वडा न. ११ मा क्वारेन्टाइन व्यवस्थित गरिएको छ । वडा अध्यक्ष बाबुरमा अधिकारीका अनुसार कमलामाई मन्दीरमा १६ शैयाको क्वारेन्टाइन तयार गरिएको छ । मेडिकल कलेजको वेड, स्थानीयको सहयोगमा खाट, पंखा जस्ता सामाग्री मागेर क्वारेन्टाइन व्यवस्थित गरेको उहाँले बताउनुभयो । मंगलबार वाटै क्वारेन्टाइनमा खाना खुवाईने उहाँको भनाई छ ।
क्वारेन्टाइनको मापदण्ड अनुसार शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा १४ दिनदेखि १७ दिनसम्म राख्नुपर्ने हुन्छ ।
क्वारेन्टाइनमा कोठाको व्यवस्थापन गर्दा प्रतिव्यक्ति ७५ वर्गफिटको स्थान वा एउटा खाटदेखि अर्को खाटसम्मको न्युनतम दूरी ३ देखि ५ फिट हुनुपर्ने तोकिएको छ । सरकारले तोकेको मापदण्डअनुसार क्वारेन्टाइनमा बस्ने व्यक्तिले अरुलाई हिनताबोध गर्ने खालको कुनै पनि काम गर्न नपाउने, क्यारेन्टाइनमा सूर्तिजन्य एवं मादक पदार्थको सेवन गर्न नपाउने, क्वारेन्टाइनबाट कोही पनि व्यक्ति भाग्ने वा भाग्न कोसिस गरेको थाहा भएमा त्यसको जानकारी दिने जस्ता विषयहरु उल्लेख गरिएको छ ।
क्वारेन्टाइनमा बस्ने व्यक्तिलाई खोक्दा या हाछ्युँ गर्दा अनिवार्य रुपमा मुख छोप्नुपर्ने, मासु एवं अण्डा राम्रोसँग पाकेको यकीन गरेर मात्रै खानुपर्ने, कुनैपनि पंक्षीहरुको सम्पर्कमा जान नहुने नियम तोकिएको छ ।
सो मापदण्डअनुसारको क्वारेन्टाइनमा दिनमा ४ पटक खाना खान पाइन्छ । जस अनुसार बिहान साढे ७ बजे चिया, दिउँसो साढे ११ बजे दिवा खाना, अपराह्न साढे २ बजे खाजा र साँझ साँढे ७ बजे रात्रि खानाको व्यवस्था गरिएको छ ।
भरतपुर महानगरकामा २९ वटा वडा मध्ये कतिपयले क्वारेन्टाइन व्यवस्थित गरेका छन् भने कतिपयले बेन्च जोडेर काम चलाउने गर्दै आएका छन् ।यो समस्या अरु स्थानीय तहमा पनि छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले सबै वडाहरुलाई व्यवस्थित क्वारेन्टाइन वनाउन भनिएको वताउनुभयो । कपडाहरु पठाईएको र जुटाउन नसक्नेलाई खाट, लोवेड जस्ता सामाग्री महानगरपालिकाले नै उपलव्ध गराउने उहाँको भनाई छ । दुई वटा वडामा खाट किनेको उहाँले बताउनुभयो । हाल महानगरमा ७ देखि २६ जना सम्म क्षमताका २ सय ९५ जना क्षमताको क्वारेन्टाइन रहेको उहाँको भनाई छ । महानगरले क्वारेन्टाइनमा वस्नेलाई रु ४ हजार वरावरको खानाको लागि वजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले क्वारेन्टाईनमा बस्नेहरु संक्रमित पनि हुन सक्ने भएकाले मापदण्ड अनुसार आरामदायी क्वारेन्टाइन वनाउनु पर्ने बताउनुभयो । क्वारेन्टाइन मै बसेर संक्रमण निको भएर फर्कन पर्ने अबस्था आउन सक्ने भएकाले मानविय न्यूनतम सुविधा हुने गरि क्वारेन्टाइन वनाउनुपर्ने उहाँको भनाई छ ।
जिल्लका क्वारेन्टाईनमा गुणस्तर सुधार आबश्यक रहेको भट्टराईले बताउनुभयो । आज जिल्लाका २९ वटा क्वारेन्टाइनमा २ सय ६२ जना रहेको भन्दै उहाँले सबै वडामा क्वारेन्टाइन वनाउन भनिएको जानकारी दिनुभयो । कतिपय ठाउँमा समुदायको अवरोध भएकाले क्वारेन्टाइन वनाउन समस्या भएको छ । स्थानीय तहमै त्यसको व्यवस्थापन गर्दै न्यूनतम मापदण्ड पुरा हुने गरि क्वारेन्टाईन वनाउनुपर्ने उहाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !