चितवनः चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसराबाट राप्ती नदिमा छाडीएको एउटा घडीयाल गोही भारतको कलकत्ता नजिकै हुग्दी नदीको चाकाडा भन्ने ठाउँमा फेला परेको छ ।
निकुञ्जको गोही प्रजनन् केन्द्र हेर्दै आउनुभएका सहायक संरक्षण अधिकृत वेद वहादुर खड्काका अनुसार चैत ४ गते राप्तीमा छाडीएको गोही १ हजार ६२ किलोमिटर टाढा हुग्दी नदीमा पुगेको हो । यहि जेठ ४ गते त्यहाँ माछा मार्ने क्रममा जालमा गोही फेला परेको उहाँले जानकारी दिनुभयो । सो गोही राप्ती नदीबाट नारायणी नदी, गण्डक हुँदै कोशी पार गरेर हुग्दी पुगेको खड्काको भनाई छ । गोही छोड्दा राखिएको नम्बरका आधारमा यहीको गोही भएको पहिचान गरिएको हो ।
खड्काका अनुसार वि. सं. २०७१ साल जेठमा फुलवाट कोरलिएको सो गोही नदीमा छोड्दा ६८७ नम्बर राखिएको थियो । २ दशमलब ६ मिटर लामो सो गोही २६ किलोको थियो । पुच्छर काटेर नम्बर लगाएकाले गोहीको पहिचान गर्न सजिलो भएको हो । एउटा पहिचान भएको तस्बिर र त्यहाँका स्थानीय संञ्चारमाध्यमको समाचार समेतप्राप्त भएको भन्दै उहाँले अरु १० गोही सोही क्षेत्रमा रहेको हल्ला चलेको भए पनि आधिकारिक जानकारी आइनसकेको बताउनुभयो ।
विश्वमानै शंकटापन्न अबस्थामा रहेको घडियाल गोही गंगा र आसपासका नदीमा मात्र पाईने गर्दछ । नेपालमा हरेक वर्ष नदीमा गोहीको फुल संकलन गरि वच्चा कोरलेर हुर्काएर नदीमा छाड्ने गरिएको छ । यद्यपि गोही गण्डक को व्यारेज कटेर भारततर्फ जाने क्रम वढेका छ । खड्का भन्नुहुन्छ “प्रकृति र वन्यजन्तुलाई देश मतलव हँुदैन सबै एकैनास हुने गर्दछ ।”
भारतवाट यहाँ प्रजननका लागि फागुन पछि माछा नेपाल तर्फ आउने गर्दछन् । नेपालका नदी र खोल्साहरुमा प्रजनन् पछि भदैतिर फेरी भारतीय नदीतर्फ फर्कने गरेको खड्काको भनाई छ ।
विश्वबाट नै लोप हुन लागेको घडियाल गोहीलाई निकुञ्जको कसरामा रहेको प्रजनन् केन्द्रमा हुर्काएर हरेक वर्ष नदीहरुमा छाड्ने गरिएको छ । नदीमा छाडीएका मध्ये राप्तिमा मात्र हाल सम्म ८ सय ३५ गोही छाडीएको उहाँले जानकारी दिनुभयो ।
निकुञ्जका अनुसार नारायणी नदीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबहीमा ११० वटा गोही छोडिसकिएको छ । पछिल्ला वर्षहरुमा राप्तीमा मात्रै गोही छाडिने गरिएको छ । नदीहरुमा गोही छोड्दै गए पनि संख्या वढ्दै जान भने सकेको छैन । पछिल्लो गणना अनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन् ।
सन् १९७८ मा प्रजनन् केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छोड्न थालिएको हो । नदी प्रदुषण बन्दै जाँदा संकटापन्न अवस्थामा रहेको घडियाल संरक्षणमा चुनौती थपिंएको छ ।