काठमाडौंः नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ । बाँकेको क्वारेन्टिनमा आइतबार बिहान मृत्यु भएका २५ वर्षीय युवाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिए पछि कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या दुई पुगेको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार बाँकेमा आइतबार मृत्यु भएका  युवकमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो।

यसअघि बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा पनि कोरोनाको संक्रमण पुष्टि भएको थियो।

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले भेरी अस्पतालमा गरिएको परीक्षणमा युवकमा कोरोनाभाइरसको संक्रमण देखिएको वताउनुभयो।

“उहाँको रिपोर्ट पोजेटिभ आयो, योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ,” मन्त्री बरालले भन्नुभयो ।

मन्त्री बरालले कोरोना संक्रमितको शव व्यवस्थापन गर्नेबारे स्वास्थ्य मन्त्रालयले तयार गरेको कार्यविधिका आधार मृतकको शव व्यवस्थापन गर्न निर्देशन दिएको जानकारी दिनुभयो। उक्त कार्यविधिमा नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मीसहित मिलेर शवको अन्त्येष्टि गर्ने मन्त्री बरालले बताउनुभयो ।

योसँगै नेपालमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ। यसअघि गत बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा कोरोनाभाइरसको पुष्टि भएको थियो।

आइतबार बिहान मृत्यु भएका युवा रोजगारीको लागि भारतको मुम्बई गएका थिए। उनी वैशाख ३० गते नेपाल आएका थिए। भारतबाट आएका उनलाई सिधै क्वारेन्टिनमा लगिएको थियो।

नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक नागरेन्द्र साहका अनुसार उनी बसेको क्वारेन्टिनमा अरू ३८ जना पनि छन्। मृत्यु हुनुअघि आइतबार बिहान ४ बजेतिर उनले अचानक दुई पटक बान्ता गरेका थिए।

प्रतिक्रिया दिनुहोस !