काठमाडौंः नेपाली सेनाको मध्यपूर्वी पृतनाका प्रमुखलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको पाइएको छ ।
स्वास्थ्य मन्त्रायलले शनिबार अपरान्ह काभ्रे घर भइ महोत्तरीमा कार्यरत २६ वर्षीय र महोत्तरीका ५२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको थियो ।
उनीहरु नेपाली सेनाको मध्यपूर्वी पृतनामा कार्यरत भएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनु । यद्यपि उहाँले दर्जाबारे खुलाएनन् ।
तर सुरक्षा सम्बद्ध उच्च स्रोतले संक्रमित ५२ वर्षीय पुरुष नेपाली सेनाको पृतनापति भएको जानकारी दिनुभयो । मध्यपूर्वी पृतनामा उपरथीको नेतृत्व छ । बर्दिवासको किशान नगरस्थित पृतनाका प्रमुख लकडाउनका समयमा विभिन्न कार्यक्रममा सहभागी भएका थिए । त्यसक्रममा उहाँलाई संक्रमण भएको हुनसक्ने प्रारम्भिक आशंका गरिएको छ ।

सेनाको पृतनामा चिकित्सकसहितको सुविधा पनि छ । त्यसैले उहाँलाई बाहिरको अस्पतालमा राख्ने वा ब्यारेकमै आइसोलेसनमा राख्ने भन्नेबारे छलफल भइरहेको स्रोतले जनाएको छ ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले सैनिक अधिकारीको दर्जा थाहा भइनसकेको दाबी गरे । यद्यपि कन्ट्याक ट्रेसिङको कार्य भने थालिसकिएको उहाँले जनानकारी दिनुभयो ।

महोत्तरीका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले पनि संक्रमित व्यक्ति सेनाको उच्च अधिकृत भएपनि थप विवरण बताउन नमिल्ने बताए ।

प्रतिक्रिया दिनुहोस !