चितवन: जिल्लाका सात स्थानीय तह मध्ये कतिपयले लगत लिने काम गरिरहेका छन् भने कतिपयले राहत बाँढी रहेका छन् । जिल्लामा एक महानगरपालिका पाँच नगरपालिका र एक गाउँपालिका रहेका छन् ।
भरतपुर महानगरपालिकाले २९ वटै वडामा राहत बाँढ्न सुरु गरिसकेको छ । महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रदेश सरकारले उपलव्ध गराएको रु २० लाख र महानगरपालिकाको रु ५० लाख गरि रु ७० लाख पहिलो चरणमा राहत बाँढ्नका लागि वडाहरुमा पठाई सकीएको छ ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीका अनुसार एउटा वडालाई संख्याको आधारमा रु १ लाख ५० हजार देखि ३ लाख सम्म पठाईएको छ । सरकारले तोके अनुसार राहत पाउनुपर्नेको संख्या महानगरमा करिब ३० हजार हुने उहाँको भनाई छ ।
रत्ननगर नगरपालिकाले लगत संकलनको काम गरिरहेको छ । नगर प्रमुख नारायण वनका अनुसार पहिलो चरणमा ४ हजार १ सय परिवारले राहतका लागि नाम टिपाएका छन् । सो संख्या बढि भएकाले बास्तबिक राहत पाउनुपर्नेको पुनः तथ्याङ््क अध्याबधिक गर्न वडा अध्यक्षहरुलाई भनिएको उहाँले जानकारी दिनुभयो ।
दुई दिनमा तथ्याङ्क अध्याबधिक गरि राहत बाँढीने वनको भनाई छ । खानै मुस्कील भएकाहरुलाई भने वडा कार्यालयहरु मर्फत सहयोग दिन थालिएको उहाँले जानकारी दिनुभयो ।
खैरहनी नगरपालिकाले राहत बितरण थालिसकेको छ । नगरप्रमुख लालमणी चौधरीका अनुसार ३ हजार ५ सय घर धुरीलाई राहत दिनुपर्ने देखिए संगै बितरण सुरु गरिएको छ । पहिलो चरणमा रु ३० लाख हाराहारी खर्च हुने उहाँले जानकारी दिनुभयो ।
राप्ती नगरपालिकाले राहतको लागि पोका पार्नेकाम भईरहेको जनाएको छ । कोटेशन मार्फत राहतका सामाग्री खरिद गरि पोका पार्न लगाईएको हो । नगरप्रमुख प्रभा बरालका अनुसार आजबाट राहत बाँढ्न सुरु गरिने छ । ४ हजार घरधुरीलाई राहत बाँढीने उहाँले जानकारी दिनुभयो । नगरभित्र बिकट पहाडी गाउँ समेत रहेकाले राहत बढिलाई दिनुपर्ने देखिएको हो ।
पहाडी क्षेत्र समेत समेटेको कालिका नगरपालिकाले पनि तथ्याङ्क लिने काम गरिरहेको छ । नगर प्रमुख खुमनारायण श्रेष्ठका अनुसार दुई दिन जतिमा एकिन तथ्याङ्क आए पछि घरघरमै पुगेर राहत बाँढ्ने तयारी गरिएको छ । राहत कतिलाई दिनुपर्छ भन्ने बारेमा अहिलेनै भन्न नसकीने भन्दै उहाँले भन्नुभयो “घाँटीमा मोटो सिक्रि र पल्सर मोटरसाईकल चढेर राहत चाहियो भन्न आएका छन् । त्यस्तालाई हामी राहत दिदैनौ ।”
माडी नगरपालिकाले १ हजार १ सय १६ परिवारलाई राहत बितरण गरिसकेको छ । थप तथ्याङ्क संकलन हुने काम भईरहेको प्रमुख ठाकुर ढकालले जानकारी दिनुभयो । पहिलो चरणमा रु १५ लाख वरावरको राहत बाँढीएको उहाँले जानकारी दिनुभयो । अत्याबश्यक बाहेकलाई राहत नदिईएको ढकालको भनाई छ ।
ग्रामीण र चेपाङ् समुदायको बाहुल्यता भएको ईच्छाकामना गाउँपालिकामा राहत बाँढ्न सुरु गरिएको छ । गाउँपालिका प्रमुख गिता गुरुङले १ हजार ४ सय ७० परिवारलाई पहिलो चरणमा राहत बाँढ्न सुरु गरिएको बताउनुभयो । राहत २ हजार ७ सय परिवारले माग गरेका छन् । गुरुङ्ले छाकै टार्न कठिन भएकालाई पहिलो चरणमा राहत बाँढीएको जानकारी दिनुभयो । दाताहरुलाई राहत दिनुपर्दा गाउँपालिका मार्फत दिन अनुरोध गरिएको भन्दै उहाँले दलहरु र सामाजिक संघ संस्थाले पनि गाउँपालिका मार्फत राहत उपलव्ध गराएको बताउनुभयो ।
स्थानीय तहहरुले सात देखि दश दिनलाई हुने गरि राहत बितरण गरेका छन् । टोल सुधार संस्था मार्फत वडामा संकलन भएका तथ्याङ्कलाई आधार मानेर उनीहरुले राहत बाँढी रहेका छन् । वडा कार्यालयहरुले सर्बदलिय समिति निर्माण गरि टोल मार्फत राहत बाँढ्ने काम गरिरहेका छन् । चैत १६ गते बसेको मन्त्री परिषद बैठकले दैनिक ज्यालादारी र श्रमिक मजदुरलाई लकडाउन अबधिभर खान पुग्ने गरि राहत बितरण गर्ने निर्णय गरे अनुसार स्थानीय तहले राहत बाँढेका हुन ।