चितवनः चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैंडा मर्नेक्रम बढ्दै गएको छ । साउन यता हाल सम्म २२ वटा गैंडा प्राकृतिक कारणले मरेका छन् ।
निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार पछिल्लो पटक मंगलबार पश्चिमी सेक्टरको टेम्पल टाईगर क्षेत्रमा एउटा गैंडाको हाडखोर मात्र भेटिएको छ । यस अघि दुईवटा राष्ट्रिय वन क्षेत्रमा र अन्य निकुञ्ज क्षेत्रमा गैंडा मरेका थिए ।
बिषाक्त खाना, बुढो भएर, जुधेर, दलदलमा फसेर, भाले लाग्दा, लडेर, खोचमा फस्ने जस्ता कारणले गैंडा मर्ने गरेका छन् ।
गैंडाको मृत्युदर उच्च भएपछि गतवर्ष निकुञ्ज विभागले मृत्युको कारण अध्ययन गर्न समिति बनाएर काम गरिरहेको छ । विगत केही वर्ष यता चोरीशिकारीबाट गैंडा मारिएका छैनन् । तर प्राकृतिक कारणले मर्ने क्रम बढेपछि संरक्षणको क्षेत्रमा चिन्ताको रुपमा हेरिएको छ ।

गत आर्थिक वर्षमा ४३ गैंडा प्राकृतिक कारणले मरेका थिए । आर्थिक वर्ष २०७४÷०७५ मा २६ र २०७३÷०७४ मा २५ वटा गैंडा प्राकृतिक कारणले मरेका थिए । सामान्यतया ५ प्रतिशत गैंडाको मृत्युलाई सामान्य मानिन्छ । पछिल्लो गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६०५ वटा गैंडा रहेका छन् । गत वर्ष ५ प्रतिशतभन्दा बढी गैंडा मरेका थिए । यसलाई संरक्षणमा चुनौतीका रुपमा हेरिएको छ ।
गैंडा गणनाको तयारी
दुर्लभ एक सिंगे गैंडाको गणना यही चैत १० गतेबाट सुरु गरिने भएको छ । चितवन राष्ट्रिय निकुञ्जबाट गणना सुरु गर्न लागिएको हो । तयारीका लागि प्राबिधिक कर्मचारीहरुलाई यही चैत्र ७ र ८ गते तालिम दिईदै छ ।
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा पहिलो चरणमा गैंडा गणना गरिने छ भने दोस्रो चरणमा बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गणना गरिने छ । नेपालका चारवटा निकुञ्जमा गैंडा रहेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जमा गैंडा गणनाका लागि ३५ वटा हात्ती र ६० जना प्राबिधिक जनशक्ति परिचालन गरिदै छ । प्रत्यक्ष रुपमा गणना गरिदैं छ । २० दिनमा गणना गरिसक्ने योजना रहेको छ । गणनाको शुभारम्भ चितवनबाट गर्न लागिएको हो । निकुञ्जका सहायक संरक्षण अधिकृति उप्रेतीका अनुसार निकुञ्जको पूर्बी क्षेत्रबाट गणना गरिदैं छ । वन मन्त्री, सचिब लगाएतका उच्च अधिकारीहरुको उपस्थितिमा गणना शुभारम्भ गर्ने तयारी रहेको छ ।
बिगतका वर्षहरुमा दाताको भरमा गणना गरिने गरेको भए पनि यसपटक सरकारको आफ्नै खर्चमा गणना गर्दैछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागले गैंडा गणनाका लागि रु १ करोड १० लाख ३५ हजार रकम बिनियोजन गरेको छ । बाढिले गैंडा बगाए पछि गत वर्षनै गैंडाको संख्या पत्तालगाउन गणना गर्ने तयारी गरिएको भए पनि बजेट अभावमा गणना हुन सकेको थिएन । दाताको भर पर्दा समस्या हुन सक्ने भन्दै यस वर्ष सरकारलेनै बजेट बिनियोजन गरेको हो ।
हरेक पाँच पाँच वर्षमा गैंडा गणना गरिदै आएकोछ । यस अघि सन २०१५ मा गैंडा गणना गरिएको थियो । त्यतिवेला ६ सय ४५ गैंडा रहेको तथ्याङ्क सार्बजनिक भएको थियो । जसमध्ये ६ सय ५ वटा चितवन राष्ट्रिय निकुञ्जमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस !