चितवनः कारागारमा उत्पादीत सामाग्री बलियो र राम्रो हुन्छ भन्ने बिश्वास छ । तर पछिल्लो समय ती उत्पादीत सामाग्रीले बजार पाउन नसक्दा कारागारमा रहेर मुडा बुन्दै आएका कैदी बन्दीहरु चिन्तित भएका छन् ।
विगत तीन महिना देखि यहाँ निर्मीत मुडाहरुले वजार पाउन सकेका छैनन् । कारागारमा रहेका कतिपय कैदी बन्दीहरुले यही कमाईबाट घरखर्च चलाउँदै आएका थिए । उनीहरु अहिले मुडाले वजार नपाउँदा निरास वनेका छन् । कुनै समय बुटवल, पोखरा, काठमाडौं सम्म पुग्ने यहाँ निर्मीत मुडाले अहिले कतै पनि वजार पाउन सकेको छैन ।
गत कात्र्तिक महिना देखिनै यहाँ उत्पादीत मुडाहरुले बजार पाउन छाडेका हुन । मुडा बुनेरै महिनाको रु १० हजार सम्म कमाउँदै आएका पदमपुरका रामविहारी चौधरी अहिले निकै चिन्तित वनेका छन् । घरमा कमाउने मान्छे नहुनु र आँफुले उत्पादन गरेको सामाग्रीले बजार नपाउँदा घर चलाउन समेत समस्या परेको उनले दुखेसो पोखे ।
घरका लागि आबश्यक चामल र नुन, तेलका लागि खर्च जुटाउँदै आएका चौधरी अहिले महिनाको रु १ हजार पाँच सय कमाउन समेत धौधौ भएको बताउँछन् । उनले भने “यहाँ निर्मीत मुडाहरुले राम्रो बजार पाउँदा घर खर्च र आफ्नो खर्च चलेको थियो अहिले त्यस्तो छैन । आँफैलाई चल्न समेत समस्या भएको छ ।”
यस्तै पिडा पोख्छन् बिक्रम महत्तो । पहिला बजार पाउँदा राम्रो कमाई भएको भए पनि अहिले भने निरासाजनक भएको उनको भनाई छ । चाड पर्ब देखि घरको हरेक समस्यामा यहाँको कमाईले समाधान गर्ने गरेको बताउँदै महत्तोले अहिले कात्र्तिक महिना देखि मुडाले बजार नपाउँदा घर धान्न समस्या परेको बताए ।
कारागार कार्यालय चितवनमा मुडा बुन्ने पेशामा मात्र तीन यस जना कैदी बन्दी छन् । उनीहरु मध्ये एक सय जनाले यही कमाईले घरखर्च चलाउँदै आएका छन् । कारागार कार्यालयको तथ्याङ्कलाई हेर्नेहो भने कारागारमा रहेका ७ सय ४२ कैदी बन्दी मध्ये ३ सय ५० जना कुनै न कुनै शिपमा व्यस्त रहेको देखिन्छ । मुडा बुन्ने, सिलाई कटाई , गलैचा, सुनचाँदीका गरगहना वनाउने लगाएतका काम उनीहरुले गरिरहेका छन् ।
यहाँ उत्पादीत अन्य सामानहरुको वजार राम्रो भए पनि पछिल्लो समय मुडाले वजार लिन नसकेको त्यहाँ उत्पादीत मुडाको बजार व्यवस्थापन हेर्दै आउनु भएका सुवेदी सप्लायर्सका प्रेम सुवेदीले बताउनुभयो । प्लाष्टिकबाट उत्पादीत सामानहरुले बजार लिदाँ कैदी बन्दीबाट उत्पादीत सामाग्रीले बजार पाउन नसकेको उहाँले जानकारी दिनुभयो ।
सरकारले कारागारलाई सुधार गृहको रुपमा परिमार्जन गर्ने लक्ष्य लिएको छ । सोही अनुसार यहाँ आएका कैदी तथा बन्दीहरुलाई आत्मनिर्भरका लागि बिभिन्न शिप सिकाईन्छ । कार्यालयका प्रमुख कमल प्रसाद काफ्लेले यहाँ उत्पादीत सामाग्रीहरुको बजार व्यवस्थापनको कामलाई मुख्य ध्यान दिदै काम गरिरहेको बताउनुभयो ।