चितवनः पछिल्लो समय विकासको बाटोमा लम्कदै गरेको चितवन विगतका राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनमा सदैव अग्रणी स्थानमा रह्यो । देशको मध्यभागमा रहेको, मिश्रित समाज, शिक्षाको पहुँच, राजनीतिक चेतना जस्ता विषयमा अग्रणी जिल्ला भएका कारण हरेक आन्दोलनमा चितवनले आफूलाई निर्णायक आन्दोलनका एउटा साक्षीका रुपमा क्रान्तिलाई साथ, सहयोग र मलजल गर्दै अग्रणाी मोर्चामा उभ्यायो ।

नेपालको राजनीतिक परिवर्तनमा राणा विरोधीदेखि लोकतन्त्र स्थापनासम्मका आन्दोलनमा यसले नेतृत्वदायी भूमिका खेल्दै आएको छ । सामाजिक रुपान्तरणसहित राजनीतिक परिवर्तनका लागि पटकपटक भएका संघर्षलाई निर्णायक विन्दुमा पु¥याउन यो जिल्लाले आफूलाई परिवर्तनको पक्षमा उभ्याएको छ । चाहे त्यो बि.सं. २००७, २०१४, २०१७÷१८, २०३६, २०४६ का आन्दोलन होस कि ०६२÷०६३ को युगान्तकारी दोस्रो जनआन्दोलन होस् ।

बि.सं.२००७ सालताका आदिवासीहरुको मात्रै बसोबास रहेको बेला भएको जहाँनीया शासन विरुद्धको युगिन परिवर्तनको घडी होस वा पूर्वाधार र विकासको बाटोमा अघि लम्कदै गरेको बेला देशका ७४ जिल्लाका मानिसहरुको साझा बासस्थान भएपछि २०६२÷०६३ मा भएको आन्दोलनमा होस् चितवनले परिवर्तनलाई सदैव आत्मसाथ ग¥यो । “नेपालको राजनीतिमा चितवन” विषयमा विद्यावारिधि गर्नुभएका .प्रा.डा राजेन्द्रप्रसाद रेग्मी बि.सं.२००७ सालमा राजनीतिक चेतना कम हुँदै गर्दाको अवस्थामा पनि तत्कालिन सदरमुकाम उपरदाङ गढी कब्जा गरी आन्दोलनलाई अघि बढाएको बताउनुहुन्छ ।

“आन्दोलनका क्रममा नेपाली काङ्ग्रेसका मुक्तिसेनाले वीरगञ्ज हुँदै तत्कालीन चितवनको व्यापारिक नाका ठोरी, शीतकालीन सदरमुकाम झुवानी तथा गृष्मकालीन सदरमुकाम उपरदाङगढी नियन्त्रणमा लिएको विषयले चितवनको राजनीतिक परिदृश्यमा तरङ्ग पैदा गराउने घटनाका रुपमा देखा प¥यो”, उहाँले भन्नुभयो “२००७ साल फागुन ७ गतेको घोषणापछि मुक्ति सेनाले चितवन कब्जा गरेको घटना नेपाली राजनीतिको चर्चित र जीवन्त घटनाका रुपमा इतिहासमा अभिलेखित भएको छ ।”

नेपाली कांग्रेसले संविधान सभाको माग गर्दै “भद्र अवज्ञा आन्दोलन” भन्दै वि.सं. २०१४ मंसिर २२ गतेबाट सत्याग्रह गर्ने निर्णय ग¥यो । सोहीअनुरुप यहाँ पनि बखानसिंह गुरुङ, विश्वबन्धु थापा, उदयनाथ अधिकारी, किशोरचन्द्र ढुङ्गानाको नेतृत्वमा सत्याग्रह आन्दोलन शुरु भएको रेग्मीले बताउनुभयो । उहाँका अनुसार सत्याग्रह आन्दोलनको पूर्व निर्धारित कार्यक्रमअनुसार मंसिर २२ गतेबाट तत्कालीन सदरमुकाम उपरदाङगढीमा धर्ना कार्यक्रम शुरु भयो । चितवनलगायत देशका विभिन्न स्थानमा सत्याग्रह प्रभावकारी हुँदै गएपछि राजा महेन्द्रले वि.सं.२०१५ फागुन ७ गतेबाट आम निर्वाचन प्रारम्भ गरिने घोषणा गरेको रेग्मी स्मरण गर्नुहुन्छ ।

राजाले संसद भंग गरी बि.सं. २०१७ पुस १ गते राजनीतिक दलका नेतालाई बन्दी बनाएपछि यहाँका विभिन्न दलका नेता कार्यकर्ता भारत प्रवेश गरे । निर्वासित नेता कार्यकर्ताको भारतको पटनामा भेला भएर माघ १२ गते एक विशेष सम्मेलन गरी राजा विरोधी आन्दोलन गर्ने निर्णय भयो । ती नेता कार्यकर्तालाई लामो प्रशिक्षण दिएपछि बि.सं. २०१८ माघ २६ गते जिल्लाको सदरमुकाम उपरदाङगढी कब्जा गरियो । जसमा यसै जिल्लाबाट निर्वासमा रहेका नेता कार्यकर्ताको अगुवाई रहेको थियो ।

बि.सं. २०३६ सालमा शुरुमा विद्यार्थीले शैक्षिक माग राखेर आन्दोलन शुरु गरे । पछि उक्त आन्दोलन देशव्यापी बन्यो । सोही क्रममा बि.सं. २०३६ वैशाख २० गते भरतपुरमा आन्दोलन चर्कियो । रेग्मीको भनाई अनुसार सोही आन्दोलनमा गोली चल्दा दुई जना शहीद भए ।

जनमतसंग्रह जनताको पक्षमा हुन सकेन । त्यसपछि नेपाली कांग्रेस र कम्युनिष्टले जिल्लामा वृक्षरोपण, रक्तदान, सरसफाई जस्ता रचनात्मक कार्यक्रममार्फत् सरकारको विरोधलाई जारी राखे यससँगै विद्यार्थी, प्राध्यापक, शिक्षक संगठित भएको देखिन्छ । बि.सं. २०४२ सालको सत्याग्रहमा जिल्लामा सात सयभन्दा बढी नेता कार्यकर्ता गिरफतार भए । शासकको थिचोमिचो र दमनका विरुद्ध विस्तारै दन्किदै गएको प्रजातन्त्रप्रतिको जनताको मोह र चेतनाको दियोमा तेल थप्ने काम चितवनले गरिरह्यो । त्यसैको दृष्टान्त थियो बि.सं. २०४६ सालको आन्दोलनलाई अघि बढाउन यहाँका प्रजातन्त्रप्रेमीहरुले गरेको साथ र सहयोग ।

त्यसबेला कांग्रेस र वाम मोर्चाबीच संयुक्त रुपमा आन्दोलन अघि बढाउने सहमति भए अनुसार जिल्लामा नेपाली कांग्रेसको नेतृत्व कृष्णलाल सापकोटा र वाममोर्चाको नेतृत्व नरबहादुर खाँडले गर्नुभएको थियो । आन्दोलन चर्कदै जाँदा उर्लिएको जनप्रदर्शनमा गोली चल्दा यहाँ चार जनाले शहादत प्राप्त गरे । उक्त आन्दोलनमा चितवनका गणेश पौडेल पहिलो शहीद हुनुभएको थियो । देशैभर फागुन ७ गते दिउँसो १ बजे झण्डा प्रदर्शन गर्ने कार्यक्रम रहेकोमा १ बजेर ५ मिनेटमा पौडेलमाथि गोली प्रहार भई निधन भएको थियो । सो आन्दोलनमा हजारौं सर्वसाधारण सडकमा उत्रिएका थिए । संघर्षको साथसाथै शहादतको यो शृङ्खला २०६२÷०६३ को आन्दोलनको बेला पनि जारी रह्यो । ठूलो संख्यामा गिरफ्तारी परे । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी) लगायतका आठ दलको आव्हानमा जनता सडकमा उत्रिए । उक्त आन्दोलनमा पनि चितवन होमियो र एकजनाले शहादत प्राप्त गरे ।

हरेक प्रजातान्त्रिक आन्दोलनमा चितवन जिल्ला र यहाँका वासीन्दाको साथ, सहयोग मात्र हैन नेतृत्वदायी भूमिका हुने गरेको प्रजातन्त्रका सेनानी महेश्वरलाल श्रेष्ठ बताउनुहुन्छ । बि.सं. २०१८ सालको आन्दोलनका योद्धा श्रेष्ठ त्यसपछि हरेक आन्दोलनमा अग्रणी मोर्चामा रहेर लोकतन्त्रका लागि लडिरहनु भएको छ । उहाँले भन्नुभयो “हरेक परिवर्तनमा काठमाण्डौं मुख्य नजरमा परे पनि चितवनले निर्णायक भूमिका खेल्ने गरेको थियो ।” भारतीय सीमा क्षेत्र भएकाले सबै आन्दोलनका तयारी र बन्दोबस्ती त्यही गर्न मिल्ने भएकाले यहाँको आन्दोलनलाई सहयोग पुगेको उहाँको ठम्याइ छ । राजधानी काठमाण्डौं सत्ताधारीहरुको उच्च निगरानीमा हुने भएकाले राजधानी बाहिर हुने तयारी समेत यहाँ हुने गरेको उहाँ स्मरण गर्नुहुन्छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पुराना नेता विष्णु घिमिरे बि.सं. २०२५ साल यताका हरेक आन्दोलनमा अग्रणी भूमिकामा हुनुहुन्छ । शिक्षक आन्दोलनमार्फत् वामपन्थी राजनीतिमा लाग्नुभएका घिमिरे यहाँका आन्दोलनमा शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताउनुहुन्छ । मिश्रित समाज रहेका कारण यहाँ कुनै सामन्त सोच नभएको बताउँदै उहाँले भन्नुभयो, “यहाँका नागरिकमा राजनीतिक चेतना उच्च रहेका कारण हरेक आन्दोलनमा जिल्लाले नेतृत्वदायी भूमिका खेलेको छ ।” तत्कालिन जिल्ला विकास समितिका सभापति भइसक्नु भएका वयोबृद्ध नेता घिमिरे नेपालको प्रजातान्त्रिक र लोकतान्त्रिक आन्दोलनको इतिहासमा चितवनलाई बिर्सन नहुने बताउनुहुन्छ ।

जुनसुकै आन्दोलनमा गाउँगाउँबाट समेत जनताहरु उर्लिएको स्मरण गर्दै उहाँले भन्नुभयो, “जुन संघर्षबाट उपलब्धी प्राप्त भएको छ, त्यसलाई संस्थागत गर्नुपर्छ ।” नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल लगायतका शीर्ष नेतालाई कम्युनिष्ट पार्टीको सदस्यता प्रदान गर्नुभएका अग्रज कम्युनिष्ट नेता खम्बासिंह कुँवर तत्कालिन माओवादीको बलले २०६२÷०६३ को आन्दोलन सफल भएको बताउनुहुन्छ ।

बि.सं. २०११ सालमा लम्जुङ जिल्लामा कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठबाट सदस्यता लिनु भएका कुँवर हरेक परिवर्तनका आन्दोलनमा जिल्लाले अग्रणी भूमिका खेलेको बताउनुहुन्छ । देशैभरबाट टाठाबाठा र जाने बुझेकाहरु यहाँ बसाई सरी आएकाले आन्दोलनलाई उचाइमा पु¥याउन सफलता मिलेको उहाँको भनाइ थियो । यहाँका वासिन्दामा उच्च राजनीतिक चेतना भएकाले हरेक परिवर्तनका आन्दोलनमा जनताको महत्वपूर्ण साथ पाएको कुँवरको अनुभव छ ।

बि.सं. २०१५ सालबाट चितवनमा बसोबास गर्दै आउनु भएका कँुवर यहाँका हरेक आन्दोलनसँग निकट रहनु भएको छ । हरेक आन्दोलनको आवश्यकता जनताले बुझेकै कारण यहाँको आन्दोलनले सधैं उचाइ छुने गरेको उहाँ बताउनुहुन्छ ।

तनहुँको कोत्रेमा बि.सं. २०१८ सालमा बाबु लालध्वज गुरुङ र बि.सं. २००७ सालमा बन्दीपुरमा काका धर्मध्वज गुरुङलाई प्रजातान्त्रिक आन्दोलनमा गुमाउनु भएका चन्द्रध्वज गुरुङ हरेक आन्दोलनमा चितवनबासीको सहभागिता अविस्मरणीय रहेको बताउनुहुन्छ । बाजे बखानसिंह गुरुङले चितवनमा बि.सं. २००९ सालमा बस्ती बसाल्नु भएको थियो । गुरुङ भन्नुहुन्छ, “हाम्रा बाजे आदिवासीपछिको चितवनमा बसोबास गर्ने पहिलो व्यक्ति हो । त्यसपछि बुझे जानेका मान्छेहरु मात्रै बसाइ सरेर यहाँ आएको पाइन्छ ।” उनीहरुकै बलले गर्दा हरेक राजनीतिक आन्दोलनमा यस जिल्लाले नेतृत्वदायी भूमिका निर्वाह गरेको उहाँ बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस !