चितवनः भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा स्तरोन्नती गरिएको भए पनि थप सुबिधा केही प्राप्त गर्न सकेको छैन । अस्पतालको शैया ६ सय संञ्चालनमा आएको छ । तर न्यून चिकित्सक, स्वास्थ्य कर्मी र कर्मचारीका कारण संञ्चालनमा कठिनाई भएको छ ।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेल दरवन्दि निकै कम भएको बताउनु हुन्छ । हाल अस्पतालमा सरकारी दरवन्दि १ सय ७५ जनाको मात्र रहेको छ । त्यसमा पनि १ सय ४५ जना मात्र अस्पतालमा रहेका छन् । अस्पतालमा २० जना बिशेषज्ञ र १९ जना चिकित्सकको दरवन्दि रहेको छ । जस मध्ये बिशेषज्ञ र चिकित्सक गरि २६ जना मात्र कार्यरत रहेका छन् ।
अस्पताललाई बिकास समितिका कर्मचारीले धानेका छन् । बिकास समिति तर्फ स्थायी ६९ जना, अस्थायी ३ जना, करार २ सय २६ जना र ज्यालादारी १ सय १० जना गरि ४ सय ८ जना कार्यरत रहेका छन् । जस मध्ये ४९ जना मेडीकल अधिकृत रहेका छन् । अधिकांश मेडीकल अधिकृत दरवन्दिमा रहेकाहरु बिशेषज्ञ चिकित्सक रहेको पौडेलले जानकारी दिनुभयो । बिकास समिति नहुँदा ती कर्मचारीहरुमा काम गर्ने मनोबल गिरेको छ ।
अस्पतालका मेडीकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारी बिकास समिति बाहेक ७ सय ५७ जनाको दरवन्दि प्रस्ताब गरिएको बताउनु हुन्छ । जस मध्ये बिशेषज्ञ चिकित्सक ५६ जना र मेडीकल अधिकृत १ सय जना प्रस्ताब गरिएको छ । त्यस्तै नर्सिङ् अधिकृत १७, स्टापनर्स ३ सय ५० जना र अनिमी १५ जनाको दरवन्दि प्रस्ताब गरिएको उहाँले जानकारी दिनुभयो ।
अस्पतालको सरसफाईमा अहिले ठेकेदार मार्फत १ सय जना कार्यरत रहेका छन् । क्रमश अस्पताल बिस्तार हुँदै जाँदा सोही प्रकृयामा संख्या थप्दै लैजानु पर्ने प्रस्तब अस्पतालले गरेको छ । तिवारीले चिकित्सक कर्मचारी कम हुँदा काम नरोकीएको भए पनि काम गर्नेहरुका लागि दबाब बढि भएको बताउनु भयो ।
गुणस्तरीय सेबा दिनका लागि प्रस्ताब गरिए जति चिकित्सक कर्मचारी आबश्यक हुने उहाँको भनाई छ । अस्पतालमा बार्षिक रुपमा ३ लाख ५० हजार भन्दा बढि बिरामी उपचारका लागि आउने गरेको तथ्याङ्क रहेको छ । एकै दिनमा २ हजार २ सय जना सम्म बिरामी बहिरंग सेवामा आएको तिवारी बताउनु हुन्छ ।
चितवन सहित १९ जिल्लाबाट बिरामी उपचारका लागि यहाँ आउने गर्दछन् । अस्पतालमा १९ वटा बिभाग संञ्चालमा रहेको छ । काठमाण्डौंको प्रसुती पछि देशमानै सबै भन्दा बढी सुत्केरी हुने अस्पतालको रुपमा भरतपुर अस्पताललाई चिनिने गरिन्छ । अस्पतालमा गत आर्थिक वर्षमा १३ हजार ५ सय ४५ जनाले बच्चा जन्माएका थिए ।
गत फागुन ३ गते मन्त्री परिषदको निर्णयबाट अस्पताल केन्द्रीय स्तरको बनाउने निर्णय गरिएको हो । त्यस अघि बिकास समिति मार्फत अस्पताल संञ्चालन हुँदै आएको थियो । त्यस पश्चात बिकास समिति बन्न नसक्दा अस्पतालले सोचे जस्तो गति लिन नसकेको स्थानीयहरु बताउँछन् । बिकास समिति हुँदा स्थानीय सरोकारवालाहरुको सहयोग लिएर अस्पताल संञ्चालन गरिने भए पनि अहिले मेडीकल सुपरिटेण्डेन्टले एक्लो रुपमा अस्पताल संञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ ।
अस्पताल बिकास समितिका पूर्ब अध्यक्ष समेत रहनु भएका यसै क्षेत्रका प्रदेश सांसद बिजय सुवेदी अस्पताल केन्द्रीय भए पनि सुबिधा प्राप्त गर्न नसकेको बताउनु हुन्छ । भौतिक पूर्बाधार, औजार, उपकरण र जनशक्ति केन्द्रीय अस्पताल सरह हुनु पर्ने उहाँको भनाई छ । यस अस्पताललाई बिशेषज्ञ सेवा सहितको अस्पताल बनाउन सरकारले निर्णय गरेको भए पनि काम हुन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो“नब नियुक्त मन्त्री ज्यू संग मैले गम्भिरताका साथ कुरा गरेको छु । आशा छ केन्द्रीय अस्पतालको सुबिधा भरतपुर अस्पतालले पाउने छ ।”

प्रतिक्रिया दिनुहोस !