चितवनः बजारमा बिक्रीका लागि ल्याईएका तरकारी र फलफुलमा रहेको बिषादीको परिक्षण सुरु गरिएको छ । प्रदेश सरकार, भरतपुर महानगरपालिका, कृषि ज्ञान केन्द्र र महानगर फलफुल तथा तरकारी बजारको संयुक्त पहलमा प्रयोगशाला संञ्चालनमा आएको हो ।

भरतपुर महानगरपालिका वडा नम्वर २ मा कृषि प्रवर्धन बजार बिकास प्रालिले संञ्चालन गरेको महानगर फलफुल तथा तरकारी वजारमा प्रयोगशाला स्थापना गरिएको हो । कृषि ज्ञानकेन्द्र भरतपुरका प्रमुख राजन ढकालका अनुसार प्रयोगशालामा परिक्षण थालिएको छ । केही दिनमा औपचारीक उद्घाटन गरि नियमीत परिक्षण समेत गरिने उहाँले जानकारी दिनुभयो ।

प्रयोगशालाले बजारमा आएका तरकारी र फलफुलका दैनिक आठ÷दशवटा फरक फरक ठाउँबाट नमुना लिएर परिक्षण गर्नेछ । एउटा परिक्षण गर्न आधा घण्टा हाराहारी लाग्ने गर्दछ । परिक्षण गर्दा खान अयोग्य देखिएमा बिक्री गर्न बन्देज लगाईने छ । ढकालका अनुसार यो बिधिलाई स्टेक्टोफोटो मिटर भनिन्छ । जसमा ३५ प्रतिशत भन्दा कम देखिएमा खान योग्य हुन्छ भने ३५ देखि ४५ प्रतिशत भएमा केही समय राखेर मात्र प्रयोग गर्नुपर्ने हुन्छ । ४५ प्रतिशत भन्दा बढी भएमा अखाध्य मानिन्छ ।

प्रारम्भिक रुपमा गरिएका परिक्षणमा बोढी र भेन्टामा बढी विषादी पाईएको उहाँले जानकारी दिनुभयो । प्रदेश सरकारको उपकरण, कृषि प्रबर्धन बजार बिकास प्रालिको स्थान, भरतपुर महानगरपालिकाको स्थानको व्यवस्थापन एवं आवश्यक केमिकल संगै कृषि ज्ञान केन्द्र र महानगर मिलेर कर्मचारी व्यवस्थापन गरेका हुन ।

परिक्षण हुने भएकाले कम बिषादी प्रयोग गर्न कृषकहरुलाई भनिएको महानगर फलफुल तथा तरकारी वजारका प्रबन्ध निर्देशक थिरप्रसाद धितालले बताउनुभयो । धिताका अनुसार बजारमा दैनिक १ सय ५० टन तरकारी र ५० टन हाराहारी फलफुल आउने गर्दछ । नेपाल, चीन र भारतबाट फलफुल र तरकारी यहाँको बजारमा आउँछ । ती फलफुल तरकारी २५ भन्दा बढी जिल्लामा पुग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस !