चितवनः अपाङ्ग भन्ने वित्तिकै केही गर्न सन्क्दैनन् भन्ने भावना आम मानिसमा हुने गर्दछ । त्यसैको प्रतिफल स्वरुप अपाङ्गहरुले कहिल्यै अवसर पाउँदैनन् । तर अपाङ्गहरुले भने आफूहरुले अवसर पाएमा सपाङ्ग सरह गर्न सक्ने बताएका छन् ।

२८ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाईरहँदा भरतपुरमा भेला भएका अपाङ्ग प्रतिनिधिहरुले आफूहरुमाथि केही गर्न नसक्ने भनेर अवसर नदिने गरेको गुनासो गरे । भरतपुर महानगरपालिका वडा नं. १ पोखरा बसपार्कमा किराना व्यवसाय गर्दै आउनु भएका दृष्टिविहिन पर्शुराम पौडेलले राज्यले अवसर नदिए पनि आफै व्यवसाय गरेर आत्मनिर्भर बनेको बताउनुभयो । उहाँले बि.सं. २०६० सालबाट भाडामा सटर लिएर व्यवसाय गर्दै आएको बताउनुभयो ।

सानो व्यवसायबाट शुरु गर्नूभएका उहाँले अहिले व्यवसाय विस्तार गर्दै परिवारको पालनपोषण र शिक्षा दिक्षा सहज रुपमा गर्दै आउनु भएको छ । छरछिमेकमा रहेका सबालङ्गको भन्दा सहज जीवनस्तर उहाँको चल्दै आएको छ । उहाँले भन्नुभयो “राज्यले अवसर दिने भए अरु धेरै गर्न सकिन्छ ।”

भरतपुरको धर्मचोकका मनबहादुर पुनको एउटा खुट्टै चल्दैन । तर उहाँले धर्मचोकमै प्रोभिजनल स्टोर सञ्चालन गर्दै आउनु भएको छ । उहाँले भन्नुभयो “अपाङ्ग भन्दैमा यसै बसेर हुँदैन । केही त गर्नै प¥यो । ग¥यो भने हुन्छ ।”

२५ वर्ष अघि दुर्घटनामा परी अपाङ्ग हुनु भएका पुनले सात वर्ष यता व्यवसाय गर्दै आउनु भएको छ । यही व्यवसायबाट उहाँको परिवार धानिएको छ । लगानी बढाउन नसक्दा सोचे जति प्रतिफल नपाएको गुनासो गर्दै उहाँले भन्नुभयो “सबैले मुखले सहयोग गर्छु भन्छन् तर कसैले गर्दैनन् । अपाङ्गले गर्न सक्दैन भन्ने धेरैको सोचाई छ ।” सबैले आआफ्नो क्षमता अनुसार काम गर्न सक्ने भएकाले अपाङ्गले पनि आत्मविश्वासका साथ काम गरेमा सफल हुने उहाँले बताउनुभयो ।

माडी नगरपालिका वडा नं. ७ कल्याणपुरका यमनाथ सुवेदीको पोलियो रोगका कारण एउटा खुट्टा चल्दैन । तर उहाँ पनि यसै बस्नु हुन्न । उहाँ माडीकै जनकल्याण माविको सहायक प्रधानाध्यापक भएर काम गर्दै आउनु भएको छ । नेपाली र सामाजिक विषय अध्यापन गराउने उहाँले भन्नुभयो “समाजको नजरमा मात्रै फरक हो । तर अपाङ्गले सपाङ्ग सरह काम गर्न सक्छन् ।”

समाजमा अपाङ्गलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने भन्दै उहाँले अवसर पाएमा ध्यानचित्त लगाएर अपाङ्गहरुले काम गर्ने भएकाले सपाङ्गको भन्दा प्रतिफल आउने सुवेदीले बताउनुभयो । समाज र अभिभावकले अपाङ्गको प्रतिभा प्रफुटन गर्ने अवसर दिनुपर्ने बताउँदै उहाँले राज्यले अपाङ्गहरुलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

गोरखा घर भई भरतपुर महानगरपालिका वडा नं. १६ मा एक प्राथमिक विद्यालयमा पढाउँदै आउनु भएकी लिला दवाडी अपाङ्ग भएकै कारण आफूहरुले सपाङ्ग सरह पढाउन सक्ने बताउनुहुन्छ । अपाङ्गमैत्री संरचना नहुँदा सबै ठाउँमा समस्या हुने गरेको भन्दै उहाँले सरकारी र सार्वजनिक निर्माण संरचनाहरु अपाङ्गमैत्री हुनुपर्ने बताउनुभयो । सडकमा अपाङ्गहरुलाई आवतजावत गर्न अप्ठ्यारो हुने गरेको भन्दै उहाँले भन्नुभयो “अपाङ्गमैत्री सडक निर्माणमा राज्यले ध्यान दिनुपर्छ ।”

पछिल्ला वर्षहरुमा मुख्य शहरी क्षेत्रमा निर्माण हुने सडकहरुमा अपाङ्गमैत्री बन्ने क्रम भने शुरु भएको छ । सरकारी कार्यालयहरुमा पनि अपाङमैत्री संरचना बन्ने गरेको छ ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले पछिल्ला वर्षहरुमा बन्ने संरचना अपाङ्गमैत्री बनाउने गरेको बताउनुभयो । स्थानीय तहहरुले उनीहरुको क्षमता अनुसारका अवसर दिनका लागि विभिन्न कार्यक्रमहरु गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “राज्य अपाङ्गहरुको लागि अवसर प्रदान गर्न सकारात्मक रुपमा लागिपरेको छ ।”

सरकारले अपाङ्गहरुलाई सामाजिक सुरक्षा भत्ता समेत दिंदै आएको छ । यद्यपी अवसरका कुराहरुमा प्राथमिकतामा नपारिएको उनीहरुको गुनासो हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस !