
चितवनः अष्टमहादान, दश महादान, पञ्चधेनु जस्तै आँखादानबाट पुन्य प्राप्ती हुने पुरोहितहरुले जनाएका छन् । नेपाल नेत्रज्योती संघ चितवन अन्तर्गतको आँखा बैंक व्यवस्थापन समितिले बुधबार यहाँ आयोजना गरेको पुरोहितहरु संगको अन्तरक्रियामा सहभागीहरुले आँखादान गर्न जनचेतना जगाउने कार्यमा सहयोग पुर्याउने वताएका हुन ।
सो अवसरमा पुरोहित समाज नेपालका अध्यक्ष खेमराज अधिकारीले आँखा दानलाई सवै दान जस्तै नेत्र महादान सम्झेर जनचेतनामा जुट्ने बताउनुभयो । उहाँले भन्नुभयो“अष्टमहादान, दश महादान, पञ्चधेनु भन्थ्यौ अव हामी नेत्र महादान पनि थप्छौ ।” जलेर जाने आँखाले नेत्रहिन व्यक्तिले संसार देख्ने भएकाले यो महादान हो अधिकारीले थप्नुभयो “एउटै व्यक्तिको आँखाले आठ जना सम्मले देख्न सक्दा रहेछन् ।”
६५ प्रकारबाट मृत्यु हुने वा दुरमरणमा नारायणवलीको शास्त्रिय मान्यता भएको भए पनि आँखा दानमा त्यो नआउने उहाँको ठहर छ । उहाँले मरणो परान्त दिईने दान भएकाले नारायणवलीको आवश्यक नपर्ने बताउनुभयो ।
संस्थाका उपाध्यक्ष जनक सापकोटाले अव नेपालका पुरोहितहरुले धार्मीक प्रवचन, गरुणपुराण, श्रीमतभागवत महापुराण, सामाजिक संस्थाहरुको विशेष प्रवचनहरुमा आँखादानका सम्वन्धमा सन्देश प्रवाह गर्ने बताउनुभयो । दान धेरै किसिमका भएको भन्दै उहाँले जुन दान उपयोग हुन्छ त्यो महादान हुने भएकाले आँखादान महादान भएको बताउनुभयो ।
नेपाल नेत्रज्योती संघले भरतपुरमा संञ्चालन गरेको भरतपुर आँखा अस्पतालमा भिमराज उषामायाँ पाठक आँखा बैंक स्थापना गर्दैछ । जसका लागि स्थानीय समाज सेबी भिमराज पाठकले रु १ करोड ५० लाख सहयोग गरिसक्नु भएको छ । प्रयाप्त आँखा र आर्थिक अभावमा वैंक संञ्चालनमा आउन सकेको छैन ।
यहाँ संकलित आँखाका नानी तिलगंगा आँखा अस्पतालको आँखा बैंकमा पठाईदै आएको छ । त्यहीबाट प्रशोधन गरेको नानी ल्याएर यहाँ आँखा प्रत्यारोपण गरिदैं आएको छ । सो अवसरमा अस्पतालका डा. पुष्पा गिरि श्रेष्ठले हाल सम्म आठ जनाको आँखा झिकेर प्रशोधनका लागि पठाईएको र तिलगंगाबाट आँखाको नानी ल्याएर ७२ जनामा प्रत्यारोपण गरिएको जानकारी दिनुभयो । आँखाको नानीको झिल्लि मात्र निकालिने बताउँदै उहाँले सो स्थानमा प्लाष्टिक राखेर पहिलेको जस्तै वनाईने बताउनुभयो ।
एउटा आँखामा हुने पाँच पत्रको झिल्लि मध्ये चार पत्र काम लाग्ने भन्दै उहाँले मृत्यु भएको ८ घण्टा भित्र नानी निकाल्न सक्दा अति उत्तम हुने भए पनि १२ घण्टा सम्म झिक्न सकीने बताउनुभयो । एक व्यक्तिको दुई आँखाबाट आठ जनाले ज्योती पाउने उहाँको भनाई थियो । क्यान्सर, सरुवा रोग, लामो समय सम्म सघन उपचार कक्षमा वसेका विरामी बाहेक दुई वर्ष माथीका व्यक्तिका आँखा झिक्न सकीने र प्रत्यारोपण गर्न सकीने श्रेष्ठले जानकारी दिनुभयो ।
सो अवसरमा आखाँ बैंक व्यवस्थापन समितिका अध्यक्ष प्रभात कुमार जोशीले जलेर जाने आँखाको नानीले आँखा नदेख्नेहरुलाई संसार देखाउने भएकाले यो पुन्यकाममा हातेमालो गर्न आग्रह गर्नुभयो । नेपाल नेत्रज्योती संघ चितवनका सभापति कृष्णराज धरेलले मान्छेको मृत्यु पछि पहिलो पटक पुरोहितहरु पुग्ने भएकाले आँखा दानका लागि उत्प्रेरीत गरिदिन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल नेत्रज्योती संघका सह सचिव केशब अधिकारी, आँखा बैंक व्यवस्थापन समितिका सदस्य विनय श्रेष्ठ, शान्तकुमार पिया, अशोक अधिकारी, अस्पतालका व्यवस्थापक दयाशंकर चौधरी, छायाँ श्रेष्ठ लगाएतले आँखा दानको महत्वका विषयमा प्रकाश पार्नु भएको थियो । आँखा संकलन वढाएर दाताको खोजि गरी बैंक स्थापना गर्ने तयारी गरिएको छ । भरतपुर आँखा अस्पतालले चितवन र आसपासका जिल्लामा आँखा उपचारमा सेवा दिदै आएको छ ।