चितवनः जिल्लामा पछिल्लो समय डेंगुको महामारी वढ्दो क्रममा रहेको छ । केहि दिन यता डेंगुको संक्रमणका विरामी एक सय जना हाराहारी नयाँ थपिने गरेका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार चितवनमा देखिएका विरामी मध्ये ८३ प्रतिशत विरामी चितवनका रहेका छन् ।
कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार परिक्षणका लागि आउने विरामी मध्ये ३२ प्रतिशतमा डेंगुको संक्रमण देखिएको छ । ति मध्ये चितवनका सवैभन्दा धेरै रहेको उहाँले जानकारी दिनु भयो । स्वास्थ्य कार्यालय चितवनका अनुसार अहिले सम्म ५ हजार ३१ जनाको परिक्षण गरिएकोमा १ हजार ५ सय ८५ जनामा डेंगुको संक्रमण देखिएको छ । केसीका अनुसार भेटिएका संक्रमित मध्ये १ हजार ३ सय १७ जना चितवनका रहका छन् । जस मध्ये भरतपुर महानगरपालिकाको अत्याधिक रहेको छ ।
केसीका अनुसार भरतपुर महानगरपालिकाको १ हजार १ सय ८४ जना, राप्ती नगरपालिका ८ जना, खैरहनी नगरपालिका १५ जना, रत्ननगर नगरपालिका ६१ जना, कालिका नगरपालिकामा २० जना, माडी नगरपालिकामा १९ जना र ईच्छाकामना गाउँपालिकामा ९ जनमा डेंगुको संक्रमण देखिएको छ । डेंगुकै कारण चालु आर्थिक वर्षमा दुई जनाको मृत्यु भई सकेको छ ।
भरतपुर महानगरपालिकाले भरतपुर अस्पताललाई एक हजार डेंगु परिक्षण किट हस्तान्तरण गरेको छ । आज यहाँ एक कार्यक्रमको आयोजना गरि महानगर प्रमुख रेनु दाहालले अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीलाई हस्तान्तरण गर्नु भएको हो ।
जिल्लामा डेंगुको संक्रमण वढ्दै गए पछि परिक्षणका लागि किट अभाव देखिए संगै अस्पताललाई महानगरले किट हस्तान्तरण गरेको हो ।
किट हस्तान्तरण कार्यक्रममा वोल्दै महानगर प्रमुख दाहालले डेंगु नियन्त्रणको काम एक्लो प्रयासले सफल नहुने वताउनु भयो । अहिले महानगरको शहरि क्षेत्रमा वढि संक्रमण देखिएको वताउँदै उहाँले यसका लागि सवै एक हुन आवश्यक रहेको वताउनु भयो । डेंगुको संक्रमण वढ्न लागेपछि महानगरले आफ्नो क्षेत्र भित्र पर्ने हरेक विद्यालयमा यस विषयमा जनचेतना मुलक कार्यक्रमहरु सुरु गर्ने तयारीमा रहेको उहाँले जानकारी दिनु भयो ।
सो अवसरमा वोल्दै भरतपुर अस्पतालमा प्रमुख डा. तिवारीले अहिले अस्पतालमा दैनिक दुई सय देखि तीन सय जनाको डेंगु परिक्षण गर्नु पर्ने अवस्था रहेको वताउनु भयो । विरामीको चाप वढे अनुसारको सेवा दिनका लागि अस्पतालमा समय समयमा हुने किट अभावले समस्या पर्ने गरेको उहाँको भनाई थियो ।
अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले डेंगुको संक्रमण रोक्न गरिने स्प्रेको फाईदाका वारेमा जानकारी गराउनु भएको थियो । यसवाट वच्ने उत्तम उपाए भनेकोनै लार्भा खोज र नष्टगर अभियान रहेको भन्दै उहाँले स्प्रे गरेर १० प्रतिशत पनि समस्या समाधान हुन नसक्ने वताउनु भयो । अहिले अस्पतालमा उपचारका लागि आएका विरामीहरु मध्ये १५ देखि २० हजार जनामा प्लेट लेट र डव्लुविसि कम भएको भेटिएको उहाँले जानकारी दिनु भयो । अस्पतालमा अहिले ज्वरोका विरामीहरुको चाप वढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस !