
चितवनः आम नागरिकको विश्वास जिते संगै सवैको पहिलो रोजाई यहाँको सरकारी अस्पताल वन्ने गरेको छ । सिमित स्रोत साधनमा धेरै विरामीलाई उपचार गर्नु पर्ने वाध्यता संगै अस्पताल प्रशासनले स्वास्थ्य मन्त्रालयमा सेवा विस्तारका लागि वजेट माग गरेको छ ।
गत वर्ष केन्द्रिय स्तरको अस्पतालको मान्यता पाएर पनि वजेट नपाएको यहाँको भरतपुर अस्पतालले रु २४ करोड वरावरको वजेट निकासा गर्न र दरवन्दि थपका लागि प्रकृया अघि वढाउन माग गरेको हो । अस्पतालका मेडीकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीका अनुसार विरामीको चाप निकै वढे पछि उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई भेट गरि अस्पतालको समग्र अवस्थाको वारेमा जानकारी गराईएको हो । उहाँले भन्नुभयो “हिजो आईतवार हाम्रो वहिरंग सेवामा १ हजार ६ सय ८८ विरामीले टिकट काटेका थिए ।” ती सवैको एकै दिनमा उपचार गर्न सेवा विस्तार गर्नु पर्ने भएकाले आँफुले मन्त्रीलाई भेट गरि सेवा विस्तारका लागि आग्रह गरेको जानकारी दिनु भयो ।
तिवारीका अनुसार मन्त्री यादवले केन्द्रिय अस्पताल भएकाले तत्काल सेवा विस्तारका लागि आवश्यक वजेट विनियोजन गरि अख्तियारी दिने आश्वासन दिनु भएको छ । केन्द्रिय अस्पतालमा पनि विरामीको आधारमा वजेट उपलव्ध गराउन आँफुले माग गरेको तिवारीले वताउनु भयो । यसैगरि अर्गनाईजेसन एण्ड म्यानेजमेन्ट (ओएनएम) सर्वे गरेर दरवन्दि थप गरिदिन पनि मन्त्रालयमा माग गरिएको छ । कर्मचारी समायोजन पछि यो प्रकृया अघि वढ्ने मन्त्री यादवले आस्वासन दिनुभएको तिवारीले जानकारी दिनु भयो ।
भरतपुर अस्पतालमा अल्ट्रासाउण्ड दुई थान, पूर्ण डिजिटल एक्सरे एक थान, शिशु सघन उपचार कक्ष र सघन उपचार कक्षमा दुई÷दुई वटा भेन्टीलेटर थप गर्न माग गरिएको छ । यस्तै सुत्केरी र आकस्मिक कक्ष छुट्टै वनाउन वजेट प्रस्ताव गरिएको छ । चिकित्सकहरुका लागि हाल भएको आवास जिर्ण भएकाले नयाँ भवन निर्माणका लागि प्रस्ताव पेश गरेको उहाँले वताउनु भयो । यस्तै एक महिना देखि १४ वर्ष सम्मका वालवालीकाको उपचार गर्ने शिशु सघन उपचार कक्ष र आकस्मिक कक्षका लागि छुट्टै प्रयोगशाला निर्माणका लागि वजेट माग गरिएको तिवारीले जानकारी दिनु भयो ।
भरतपुर अस्पतालमा भएका चिकित्सकहरुले दैनिक ८० देखि १ सय जना विरामी हेर्नु परेको भन्दै तिवारीले हालको दरवन्दि भन्दा दोब्बर चिकित्सक र स्वास्थ्यकर्मी आवश्यक रहेको वताउनु भयो । दरवन्दि थपका लागि अर्थ, सामान्य र स्वास्थ्य मन्त्रालयले (ओएनएम) सर्वे गर्नु पर्ने हुन्छ । अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलका अनुसार अहिले अस्पतालमा ७७ जना विशेषज्ञ चिकित्सक र ३१ जना मेडीकल अधिकृत कार्यरत रहेका छन् ।
विरामीको संख्याको तुलनामा यो दरवन्दि निकै न्यून भएकाले अस्पताल प्रशासनले मन्त्रालयमा दरवन्दि थपका लागि पहल गरिरहेको उहाँले जानकारी दिनु भयो । अस्पतालको सेवामा सन्तुष्टि, विमाको पहिलो केन्द्र र जनसंख्याको वृद्धि संगै अस्पतालमा दिनानुदिन विरामी वढ्दै गएको पौडेलको भनाई छ । कुल विरामीको आधाभन्दा वढि विमाका हुने गरेका छन् । उहाँका अनुसार दैनिक ४० जना हाराहारी वच्चा भरतपुर अस्पतालमा जन्मने गर्दछन् । जसको २५ प्रतिशत भन्दा वढिलाई शल्यक्रिया गर्नुपर्ने हुन्छ ।
विसं २०१३ मा एउटा छाप्रोको १५ शैया बाट शुरु भएको भरतपुर अस्पतालले केन्द्रीय वने संगै ५ सय शैयाको अनुमति पाए पनि अस्पतालमा ६ सय शैया संञ्चालनमा छ । हाल अस्पतालले १४ वटा विभागमार्फत सेवा दिइँदै आएको छ । चितवन, मकवानपुर, नवलपरासी, धादिङ, गोरखा, लम्जुङ, तनहुँलगायतका जिल्लाबाट उपचारका लागि यहाँ बिरामी आउने गर्दछन् ।