चितवनः विगत एक दशक देखि सेवा दिदै आएको चितवन मेडिकल कलेज (सिएमसि) मा एक वर्षको अवधिमा चार लाखभन्दा बढी बिरामीले उपचार पाएका छन् ।
गत आर्थिक वर्ष २०७५÷०७६ मा बहिरंग सेवा (ओपिडि) मा चार लाख ४४ जना बिरामीलाई सेवा दिईएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालले सो अवधिमा ३२ हजार ५ सय ७६ जनाको आकस्मिक कक्षमा उपचार भएको जानकारी दिनभयो । आकस्मिक कक्षमा उपचार गराउन आउने मध्ये ३६ प्रतिशत दुर्घटनाका रहने गरेको सो अवसरमा जानकारी दिईएको थियो ।
यसैगरी सोही अवधिमा ४२ हजार ७ सय ६ जना बिरामी भर्ना भएर सेवा लिएका छन् । अस्पतालको तथ्यांक अनुसार सो अवधिमा २ हजार ९ सय ९३ जनाले निःशुल्क प्रसुती सेवा, ७ हजार ८ सय ३० जनाले शल्यक्रिया सेवा, २ हजार ५ सय २८ जनाले मुख्य (मेजर) शल्यक्रिया सेवा लिएका छन् ।
गत आर्थिक वर्षमा ११ हजार ११ जनाको सिटीस्क्यान, २ हजार ९ सय ७९ जनाको एमआरआई, ५१ हजार ८ सय ६९ जनाको युएसजि (भिडियो एक्सरे) गरिएको छ ।
यस अवधिमा ७४ हजार ४ सय ६३ जनाले बीमा मार्फत सेवा लिएका छन् । भर्ना हुने बिरामी मध्ये ५ हजार ६ सय ८४ जनाले बीमा सेवा उपयोग गरेको अस्पताल प्रवन्धक पारस अधिकारीले जानकारी दिनुभयो ।
अस्पताले गत आर्थिक वर्षमा सात जिल्लाका १२ ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेको जनाएको छ । शिविरमा ६ हजार ५ सय ५१ जनालाई सेवा दिईएको छ । अस्पतालले सात सय शैयाको अनुमति प्राप्त गरि संञ्चालनमा आएको छ । सुरुवातका वर्षहरुमा अस्पतालवाट थप उपचारका लागि काठमाडौं जानेको संख्या ठूलो भए पनि हाल यो संख्या एक प्रतिशत भन्दा कम रहेको अधिकारीले जनाकारी दिनु भयो ।
यसैबीच अस्पतालले विश्व हेपाटाईटिस डे (जुलाई २८) को अवसरमा आईतबारबाट कलेजो प्रत्यारोपण सेवा शुरु गरेको छ । अस्पतालका निर्देशक डा. लम्सालका अनुसार कलेजो रोगको बहिरंग (ओपिडि) सेवा शुरु गरिएको हो ।
चितवनमा नै पहिलो पटक हेपाटाईटिस तथा कलेजो प्रत्यारोपण विशेषज्ञ डा. सागर पौडेलबाट दैनिक रुपमा यो सेवा उपलब्ध हुँदै आएको अस्पतालले जनाएको छ । अस्पतालले कलेजो प्रत्यारोपणको स्वीकृती समेत पाईसकेको छ । अस्पतालका अध्यक्ष एवं प्रवन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले कलेजो प्रत्यारोपणको दक्ष जनशक्ति तयार भईसकेको जानकारी दिंदै अस्पताललाई देशकै कलेजो प्रत्यारोपणको केन्द्र बनाउने लक्ष्य रहेको बताउनुभयो ।
उहाँका अनुसार वहिरंग सेवामा कलेजो दिने र लिने दुवैको स्वास्थ्य परिक्षण, परामर्श सेवा दिईने छ । न्यौपानेका अनुसार उपचारमा अग्रणी अस्पतालको रुपमा रहेको चितवन मेडीकल कलेज नीजि मेडीकल कलेजमा सवै भन्दा वढि संकायको पढाई गर्ने कलेज हो । प्रविणता प्रमाणपत्र देखि स्नातकोत्तर सम्मको स्वास्थ्य संग सम्वन्धित विभिन्न २६ वटा संकायको पढाई हुँदै आएको छ ।
न्यौपानेले सघन उपचार कक्ष, वाल सघन उपचार कक्ष जस्ता अत्यावश्यक क्रिटिकल केयरमा पनि अस्पताल अग्रणी रहेको वताउनु भयो । गंगालाल पछिको मुटु रोगको उपचारमा चितवन मेडीकल कलेजलाई लिने गरेको न्यौपानेको भनाई छ ।रासस