
चितवनः आज भोलि भरतपुर अस्पतालमा आकस्मिक कक्ष रातको समयमा भरीभराउ हुर्दै आएको छ । विहान र दिउँसोको समयमा आएका विरामीहरु सिधै वहिरंग विभागमा जाने भए पनि रातको समयमा वहिरंग विभाग वन्द हुँदा आकस्मिक कक्ष भरीभराउन हुँदै आएको हो ।
दिनहुँ जसो रातको समयमा अकस्मिक कक्षमा विरामीहरुको भिड वढ्न थाले पछि यहाँ रहेका शैयाहरु अपुग हुन थालेका छन् । जसका कारण रातको सममया उपचार गर्न आएका विरामीहरुलाई एउटै शैयामा तीन जना सम्म राखेर उपचार गर्न वाध्य भएका छन् स्वास्थ्य कर्मीहरु । अस्पतालमा रहेको आकस्मिक कक्ष पुरानो भएको र स्थापना कालको संरचनाले चलाउनु पर्ने वाध्यताका कारण विरामीहरु मारमा पर्ने गरेका हुन ।
भरतपुर अस्पताल केन्द्रिय अस्पतालमा पर्नु र यहाँवाट दिदै आईएको सेवा सुविधाहरु प्रभावकारी र गुणस्तरीय हुनुका कारण पनि यस अस्पतालमा विरामीहरुको चाप वढ्न थालेको हो । अस्पतालमा दिवा समयमा उपचार गराउन आउनेको चाप वढे संगै रातको समयमा आकस्मिक कक्षमा उपचार गराउन आउनेको संख्यामा पनि वृद्धि भएको छ ।
दैनिक २ हजार भन्दा वढि विरामीको उपचार गर्दै आएको यहाँको भरतपुर अस्पतालमा आकस्मिक कक्ष साँघुरो हुँदा एउटै शैयामा तीन जना सम्म विरामीलाई राखेर उपचार गराउन अस्पताल वाध्य भएको छ । कतिपयले शैयाको अभावमा अन्य नीजि अस्पतालमा भौतारीनु पर्ने वाध्यता वेहोर्नु परेको छ ।
मंगलवार राती अस्पतालको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्य कर्मी केशव श्रेष्ठका अनुसार रात भरमा ५० जना विरामी उपचारका लागि आएका थिए । यसका अतिरिक्त प्रहरीले परिक्षणका लागि ल्याएका विरामी २३ जना रहेका थिए । आकस्मिक कक्षमा जम्मा १२ वटा शैया रहेका छन् । ती शैयामा सवैलाई उपचार गर्न कठिन हुने श्रेष्ठले वताउनु भयो ।
ती मध्ये विषादी सेवन गरेका तीन जना र दमको एक जना विरामीलाई अस्पतालको सघन उपचार कक्ष खालि नभएकाले नीजि मेडीकल कलेज पठाईएको थियो । वाँकी मध्ये केहि उपचार पछि घर गएका, थप उपचार गर्नुपर्ने भएकालाई विभागहरुमा पठाईएको र वाँकीलाई एउटै शैयामा तीन जना सम्म राखेर उपचार गरिएको श्रेष्ठले जानकारी दिनु भयो ।
अस्पतालको आकस्मिक कक्ष प्रमुख राजकुमार ढुङ्गाना निकै कठिनाईका साथ काम गर्नु परेको गुनासो गर्नु हुन्छ । अस्पतालका सवै विभागहरु व्यवस्थित भई सक्दा पनि अति महत्वपूर्ण विभागको व्यवस्थापन हुन नसकेको उहाँको भनाई छ । दैनीक जसो शैया नपाए पछि विरामी र आफन्तले कर्मचारीहरु संग झगडा गर्ने गरेको ढुङ्गानाले वताउनु भयो ।अस्पतालको कुल शैयाको १० प्रतिशत अर्थात ६० शैयाको आकस्मिक कक्ष हुनु पर्ने भए पनि स्थापनाको समय देखिको १२ शैयामा खुम्चनु परेको ढुङ्गनाको भनाई छ ।
अस्पतालका मेडीकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले विरामीको चाप अनुसारको आकस्मिक कक्ष नभएको वताउनु भयो । आकस्मिक कक्ष संगै प्रयोगशाला समेत आवश्यक हुने भए पनि यस्तो व्यवस्थापन हुन नसकेको उहाँले जानकारी दिनु भयो । चालु आर्थिक वर्षमा सुविधा सम्पन्न आकस्मिक कक्ष निर्माण गर्नुपर्ने आवश्यकता आँफुले देखेको र सोहि अनुरुप प्रकृया अघि वढाउन लागेको तिवारीको भनाई छ ।
अस्पतालमा आउने विरामीको आधारमा आकस्मिक कक्ष निकै सानो र अव्यवस्थित रहेको छ । पुरानो, जिर्ण र साँघुरो भवनमा आकस्मिक कक्ष संञ्चालन हुँदै आएको छ । आकस्मिक कक्षमा एउटा चरण (सिफ्ट) मा एक जना चिकित्सक, एक जना प्यारामेडीक्स र एक जना नर्सिङ् कर्मचारीको दरवन्दि रहेको छ ।
अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलका अनुसार आकस्मिक कक्षमा एक महिनामा ३ हजार पाँच सय हाराहारी विरामी उपचारका लागि आउने गर्दछन् । दिनको समयमा वहिरंग सेवामा समेत जाने भए पनि रातीको समयमा आकस्मिक कक्षमा विरामीको चाप वढि हुने गर्दछ । थोरै शैयाको साँघुरो आकस्मिक कक्ष भएकाले धान्न मुस्किल भएको उहाँको भनाई छ । अस्पतालको वहिरंग सेवामा एक दिनमा एक हजार सात सय सम्म विरामीको उपचार गरेको वताउँदै पौडेलले अस्पतालका ६ सय शैया विरामीले भरिने गरेको जानकारी दिनु भयो ।
प्रसुति विभागमा विरामी नअटेर भूईमा उपचार गर्न वाध्य हुने गरेका छन् । अस्पतालमा २० शैयाको सघन उपचार कक्ष, १२ शैयाको वाल सघन उपचार कक्ष, २० शैयाको वृद्धवृद्धा कक्ष, २० शैयाको पोष्टअपरेटीभ कक्ष र १२ शैयाको डायलशिस कक्ष समेत रहेका छन् ।
वि.संं. २०१३ सालमा एउटा छाप्रोको १५ शैया बाट शुरु भएको भरतपुर अस्पतालले केन्द्रीय वने संगै ५ सय शैयाको अनुमति पाए पनि अस्पतालमा ६ सय शैया संञ्चालनमा छ । हाल अस्पतालले १४ वटा विभागमार्फत सेवा दिदै आएको छ । चितवन, मकवानपुर, नवलपरासी, धादिङ, गोरखा, लम्जुङ, तनहुँ लगायतका १९ वटा जिल्लाबाट उपचारका लागि यहाँ बिरामी आउने गर्दछन् । वार्षिक रुपमा करिब ३ लाख हाराहारी बिरामीले सेवा लिने गरेका छन् । जस मध्ये ४० प्रतिशत हाराहारी विमाका विरामी हुने गर्दछन् ।