
चितवनः वर्षायाम सुरु भएसँगै विभिन्न किसिमका रोगको प्रकोप बढ्छ । विशेष गरी खाना, पानीको कारण हुने आउँ, झाडापखाला जस्ता रोगसँगै कीटजन्य रोगहरु बढी देखा पर्ने गर्छन्। यस्ता रोगको प्रकोप बढ्नुका धेरै कारण छन् ।
वर्षा सुरु भएसँगै पानीका स्रोतहरु दुषित हुने गर्छन् । सतही पानी (मूलहरु), जमिनमुनिको पानी (इनार र ट्युवेल) वर्षाको भेलका कारण दूषित हुन पुग्छन् । मानिस र जनावरको मलमुत्र पनि बगेर पानीका स्रोतहरुमा पुग्ने गर्छ । त्यसैले वर्षाका बेला जहाँतहीँको पानी पिउनु उपयुक्त हुँदैन ।
वर्षात सुरु भए संगै दुषित पानीका कारण रोग देखा पर्न थालेको छ । यहाँको सरकारी अस्पताल भरतपुरमा दैनिक झाडा वान्ताका विरामी आउन थालेका छन् । निजि अस्पतालहरुमा पनि यस्ता विरामीको संख्या वढ्न थालेको छ ।
भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. महेन्द्र अग्रहरीका अनुसार एक साता यता दैनिक ७÷८ जना झाडा वान्ताका विरामी आउन थालेका छन् । प्रदुषित पानी संगै भारतवाट आयातीत आँपका कारण रोग देखा परेको अग्रहरीले जानकारी दिनु भयो । यस्ता विरामी युवा अवस्थाका रहेका छन् । निजि अस्पतालहरुमा पनि झाडा वान्ताका विरामी आउन थालेका छन् ।
दुषित पानीका कारण झाडा वान्ता हुने , पेट दुख्ने, ज्वरो आउने, दिशामा रगत देखिने गर्दछ । झाडा वान्ताका कारण शरिरमा पानीको मात्रा कम भए पछि मृगौलामा समेत असर पर्ने उहाँले वताउनु भयो । झाडा वान्ताले शरिरमा हुने पौष्टिक तत्व र पानीको मात्रा घट्न गई मृगौलामा असर पर्दछ भने रक्तचाप कम हुने गर्दछ ।
संक्रमित पानीमा टाईफाईडको किटाणु पनि हुने हुनाले त्यस्तो पानीले टाईपाईडको ज्वरो आउने अग्रहरी वताउनु हुन्छ । यस्तो ज्वरो आउँदा टाउको दुख्ने गर्दछ ।
अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीका अनुसार वहिरंग सेवामा आएका विरामी मध्ये १५ प्रतिशत मौषम परिवर्तन संगै हुने रोगका विरामी छन् । जस मध्ये सवैभन्दा वढि झाडा वान्ताको रहेको उहाँको भनाई छ । वाहिरको पानी प्रदुषित हुन सक्ने भएकाले उमालेर चिसो वनाएर पिउन अधिकारीको सुझाव छ । नउमालेको फ्रिजमा राखेर चिसो वनाएको पानीमा किटाणु रहने उहाँको भनाई छ । घर वाहिर हिड्दा प्रसोधन गरि पिउन योग्य पानी मात्र प्रयोग गर्न अधिकारीले सुझाव दिनु भयो ।
३० सेकेण्ड सम्म सावन रहने गरि हात धोएर खाना ओसारपोसार गरेमा खानेकुरावाट सर्ने ३३ प्रतिशत रोग कमि हुने भन्दै अधिकारीले यो मौषममा विशेष सावधानी अपनाउनु पर्ने वताउनु भयो ।
पानीकै कारण जिल्लामा समय समयमा रोगको महामारी हुने गरेको छ । वरिष्ठ फिजिसियन डा. विजय पौडेलका अनुसार वि. सं. २०५९ सालमा प्रदुषित पानीका कारण टाईफाईटले महामारी रुप लिएको थियो । जसका कारण असार, साउन र भदौ महिनामा ठूलो संख्यामा विरामी अस्पताल आएको उहाँले जानकारी दिनु भयो ।
जिल्लाका पहाडी क्षेत्रमा मुहान र तराईमा जमिन मुनिको पानी तानेर सर्वसाधारणकोमा पठाउने गरिन्छ । २४ सैं घण्टा पानी उपलव्ध नहुने हुँदा पाईप खालि हुँदा ढल वा प्रदुषित पानी पस्न सक्ने सम्भावना रहेको छ । संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुरका प्रमुख ई.नारायण प्रसाद काफ्लेका अनुसार सर्वसाधारणकोमा पठाउने पानीमा क्लोरीन राखेर पठाउने गरिएको छ । स्रोतमा समस्या नभए पनि उपभोक्ता सम्म पुग्दा पानी प्रदुषित नहोस भन्न उच्च सावधानि अपनाईने गरेको उहाँले जानकारी दिनु भयो ।
मानव स्वास्थ्यका लागि पानी अपरिहार्य हुने गर्दछ । वरिष्ठ मुत्ररोग विशेषज्ञ डा. निर्मल लामिछानेका अनुसार एक जना स्वस्थ मानिसले दैनिक २ लिटर ५ सय मिलिलिटर पिसाव हुने गरि पानी पिउनु पर्दछ । जसका लागि झण्डै चार लिटर पानी पिउनु पर्ने हुन्छ । पानीमा प्रदुषण हुन सक्ने भन्दै पिउदै नपिएमा थप समस्या हुने भएकाले किटाणु रहीत पानी पिउनु पर्ने उहाँको सुझाव छ ।
दूषित पानी पिउन वा खाना बनाउन प्रयोग गरिएमा विभिन्न किसिमका ब्याक्टेरिया, प्रोटोजोवा, भाइरस तथा अन्य जीवाणूले मानव शरीरमा प्रवेश पाउँछन् र रोगहरु सार्दछन् । पानीको स्रोतमा जाँच गर्दा ’कोलिफोर्म’ ब्याक्टेरिया भेटिएमा उक्त पानी पिउनका लागि तथा खाना बनाउन उचित नहुने चिकित्सकहरु वताउँछन् ।