चितवनः जिल्लामा रहेका स्थानीय तहहरुले महंगोमा विरुवा खरिद गर्ने भएका छन् । सरकारले वरुवा हुर्काउनका लागि दिएको वजेटले विरुवा नहुर्काएर महंगोमा किन्न लागेका हुन । विरुवा हुर्काउदा ९ रुपैंया लागतमा हुने ठाउँमा जिल्लामा रहेको स्थानीय तहहरुले ३० रुपैंयामा किन्ने तयारी थालेका हुन ।
सरकारले प्रति विरुवा हुर्काउनका लागि ९ रुपैंया दिने भए पनि स्थानीय तहले चर्को मुल्य तिर्न लागेका हुन । ठाउँको खोजी र विरुवा हुर्काउने काममा भने स्थानीय तहले चासो नदिएको पाईएको छ ।जसका कारण यस वष जिल्लामा विरुवाको समस्या देखिने भएको छ ।
वजेट स्थानीय तहमा जाँनु र विरुवा नहुर्काईनुले जिल्लामा विरुवको समस्या देखिने भएको हो । डिभिजन वन कार्यालय चितवनका सुचना अधिकारी कृष्ण प्रसाद पौडेलका अनुसार यस वर्ष वृक्षा सुधार कार्यक्रम अन्तर्गत ७० हजार विरुवा मात्र हुर्किएका छन् । आपूर्ती समितिले १ लाख विरुवा हुर्काएको छ । पौडेलले गत वर्ष राष्ट्रपति चुरे कार्यक्रम सहित गरेर वन कार्यालयले ३ लाख ५० हजार विरुवा हुर्काएको जानकारी दिनु भयो ।
उहाँका अनुसार राष्ट्रपति चुरे कार्यक्रमको वजेट स्थानीय तहमा गएको छ । एउटा विरुवा हुर्काउन रु ९ खर्च हुने गर्दछ । त्यहि विरुवा किन्नु पर्दा रु ३० हाराहारी खर्च हुने पौडेलले बताउनु भयो ।
वन कार्यालयका प्रमुख विष्णु पौडेलका अनुसार विरुवा हुर्काउने वजेट स्थानीय तहमा गए पनि विरुवा भने हुर्काईएको छैन । ती तहहरुवाट विरुवा हुर्काईएको विवरण प्राप्त नभएको उहाँले वताउनु भयो । उहाँले भन्नुभयो “वजेट स्थानीय तहमा गयो । वजेटको अभावमा हामीले विरुवा कम मात्र हुर्कायौ ।” स्थानीय तहले पनि नहुर्काए पछि विरुवाको अभाव हुने पौडेलको भनाई छ । स्थानीय तह भने विरुवा खरीद गरेर वृक्षारोपणको तयारीमा रहेका छन् ।
भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले यस वर्ष विरुवा हुर्काउन नसकीएको वताउनु भयो । वडा नम्बर ८ मा स्थान तय गरेको भए पनि यस वर्ष भने विरुवा किन्ने तयारी गरेको उहाँको भनाई छ ।
जिल्लामा हर्रो, वर्रो, अमला, कपुर, म्याङ्गो स्टिक, टाँकी, वडहर, रिठ्ठो, जामुन जस्ता विरुवा हुर्काउने गरिन्छ । सामुदायीक वन क्षेत्रमा हरेक वर्ष वृक्षारोपण गर्नु पर्ने हुन्छ । पौडेलले विरुवाको अभावमा आबश्यक संख्यामा वृक्षारोपण हुन नसक्ने देखिएको वताउनु भयो । सर्वसाधारण र कृषक यसवाट वढि प्रभावित हुने पौडेलको भनाई छ । हरेक वर्षातको समयमा विभिन्न ठाउँमा वृक्षारोपण गर्ने गरिन्छ ।
जिल्लाको कुल क्षेत्रफल मध्ये एक लाख ४७ हजार ४ सय ९० हेक्टर वन क्षेत्र रहेको छ । जसमा निकुञ्ज, राष्ट्रिय वन, सामुदायीक वन र मध्यवर्ती क्षेत्र पर्दछन् ।