
चितवनः कुनै समय बेलायतकी महारानी एलिजाबेथ चितवन आउँदा मेघौली विमानस्थलमा निकै तामझाम थियो । पश्चिम चितवनको पर्यटकीय क्षेत्र मघौलीमा पर्ने यो विमानस्थलमा एलिजाबेथसँगै तत्कालीन राजारानी, स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तिको आवागमन बढेपछि विमानस्थल र मेघौलीको कायापलट हुने धेरैले अनुमान गरिएको थियो । तर त्यो तामझाम धेरै समय टिक्न सकेन । अहिले सो विमानस्थल वन्द अबस्थामा रहेको छ ।
२०१६ सालबाट सुरु भएको सो बिमानस्थल सुरुवात गरिएको थियो । सरकारले चितवन निकुञ्जभित्र होटल सञ्चालन गर्न नपाउने नीति बनाएपछि बिमानस्थल संञ्चालमा समस्या आउने देखिएको थियो । त्यो संगै २०६९ सालबाट विमानस्थल संञ्चालनमा आउन नसेको हो । त्यसयता विमानस्थलमा फाट्टफुट्ट उडान हुने गरे पनि नियमित छैन । विसं २०१७ मा विमानस्थल स्थापना भएपछि निकुञ्जभित्र रहेको टाइगरटप्स जङ्गल लजमा आउने पाहुना ल्याउन विमानले उडान भर्दै आएका थिए ।
सोहि विमानस्थललाई अहिले पुनः संञ्चालनमा ल्याउनका लागि सरोकारवालाहरु लागि परेका छन् । मेघौलीमा रहेको विमानस्थललाई पर्यटकीय विमानस्थलका रुपमा स्तरउन्नती गर्न पहल सुरु गरिएको छ । भरतपुरको चौबिसकोठीबाट २४ किलो मिटर पश्चिममा पर्ने मेघौली विमानस्थल क्षेत्रमा १० होटल र १० वटा होमस्टे रहेका छन् ।
सो विमानस्थल समेत हेर्दै आउनु भएका नागरीक उड्यन प्राधिकरण भरतपुरका प्रमुख पवनकुमार गौतमका अनुसार सरोकारवाला निकायहरुले मेघौली विमानस्थललाई पर्यटकीय विमानस्थलका रुपमा स्तरउन्नती गर्न चासो देखाएका छन् । गौतमले मेघौली विमानस्थलको धावन मार्ग एक हजार पाँच सय मिटर लम्बाई वनाउन सकिने बताउनु भयो । हाल सो विमानस्थलको लम्बाई एक हजार मिटर रहेको छ । नजिकै दुई सय मिटर क्षेत्रमा सुकुम्बासी वसोवास गरेका छन् ।
उनीहरुलाई बिकल्प दिएर बिस्तार गर्दा धावन मार्गलाई पाँच सय मिटर थप गर्न सकिने छ । विमानस्थल क्षेत्र २३ विगाहमा फैलिएको छ । धावन मार्ग घाँसे मैदान रहेको छ । भरतपुर विमानस्थलमा धावन मार्गका कारण साना जहाज मात्र उडान हुँदै आएको छ । गौतमले मेघौली विमानस्थललाई स्तरउन्नती गर्न सकेमा ७२ सिटे जहाज अवतरण गर्न सकिने बताउनु भयो ।
पर्यटन विकास समिति चितवनका महासचिब विश्व सुवेदीले मेघौली क्षेत्रमा रहेका १० होटलमा ३ सय ५५ जनाको क्षमता र १० होमस्टेमा ८० जनाको क्षमता रहेको बताउनु भयो । त्यहाँ आउने पर्यटक र स्थानीयलाई लक्षित गरि पर्यटकीय विमानस्थलको रुपमा बिकास गर्नु पर्ने उहाँको भनाई छ ।
वि.सं. २०१६ सालमा स्थापना भई २०६९ साल सम्म नियमित उडान हुँदै आएको सो विमानस्थलमा हाल आंशिक रुपमा चाटर वाहेक अन्य उडान हुन सकेको छैन । गएको संघ र प्रदेशको निर्वाचनको समयमा एक महिना नेपाल एयरलाईन्सले जहाज उडाएको भए पनि त्यस यता निरन्तरता पाउन सकेको छैन । चितवन राष्ट्रिय निकुञ्ज भित्रको होटल टाईगर टप्स खुले संगै सुरु भएको यस बिमानस्थल होटल वन्द भए संगै वन्द हुन पुगेको हो । पर्यटक भित्र्याउनका लागि विमानस्थल सुरु भएको थियो ।
वुद्ध एयर भरतपुरका प्रबन्धक भक्तवहादुर बस्नेतले विमानस्थल स्तरउन्नती गरेमा आफ्ना एयरलाईन्सका ठूला जहाज संञ्चालनमा ल्याउन सकीने बताउनु भयो । पर्यटकीय विमानस्थलका रुपमा यो विमानस्थललाई बिकास गर्नु पर्ने उहाँको भनाई छ ।
भरतपुरमा विमान अवतरणका क्रममा समस्या देखिएमा मेघौलीमा आकस्मिक अवतरण गराउन सकीने देखिएको छ । विमानस्थलको बुधबार अवलोकन पश्चात प्रदेश सांसद कृष्ण भुर्तेलले दुई वटा विमानस्थल रहेको एकमात्र स्थानिय निकायका रुपमा चित्रित भरतपुर महानगरका दुइ मध्ये भरतपुरलाई आन्तरीक र मेघौलीलाई पर्यटकिय विमानस्थलका रुपमा विकास गर्नु पर्ने बताउनु भयो । उक्त बिमानस्थलको स्तरोन्नतीका लागि प्रदेश सभा र प्रदेश सरकार मार्फत आवश्यक पहल गर्ने उहाँको भनाई थियो ।
भरतपुर महानगरका प्रमुख रेनु दाहालले मेघौली विमानस्थललाई यथास्थितीमा निरन्तरता भन्दा पनि अत्याधुनिक र विकसित स्वरुपमा सञ्चालन गरिनु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो “मेघौलीलाई चितवनको मुख्य बिमानस्थल बनाउने कुरामा दुईमत छैन, हामीले यसको पहलकदमी लिनु पर्छ ।” उहाँले रात्रीकालिन उडान समेत गर्न सक्ने गरि स्तरउन्नती गर्न सबैले पहल थाल्नु पर्ने बताउनु भएको थियो ।