प्रमिता ढकाल
चितवनः आम सञ्चार तथा पत्रकारिता विषयमा स्नातक तेस्रो वर्षका विद्यार्थीहरु अहिले र्बोड एक्जामको तयारीम छन् । अबको १६ दिनमा उनीहरु पत्रकारिताको सैद्धान्तिक परिक्षा दिने तयारीमा जुटीरहेकाछन् । केही दिन अघिसम्म उनीहरु चितवनका विभिन्न सञ्चार माध्यममा प्रशिक्षार्थीका रुपमा भेटिन्थे ।
चितवनका टेलिभिजन, पत्रपत्रिका, रेडियोमा करिव ४५ दिनको अभ्यासमा रहँदा उनीहरुले आगामी बाटोको अनुभव गरीसकेकाछन् । ती मध्य एक विद्यार्थी गंगा तामाङ चितवनको स्थानिय टेलिभिजनमा प्रशिक्षार्थी भएर काम गरीन् । कलेजको प्रयोगात्मक अंक प्राप्तीका लागि प्रशिक्षार्थी पत्रकारका रुपमा कार्यरत गंगा डेढ महिनामा थुप्रै कार्यक्रमहरुमा पुगिन् । उनी स्थलगत रिर्पोटिङमा जांदा पत्रकार महिलासंगको भेट भने निकै कम हुने गरेको उनको अनुभव छ । हुन त नजानेका कुरा जोसंग सिक्दा पनि हुने हो ,” उनले भनिन् ,“ “फिल्डमा हिड्दा अग्रज दिदिहरु साथमा भइदिए हुन्थ्यो जस्तो लाग्थ्यो ।”
चितवनमा पत्रकारिता सम्बन्धि अध्यापन गराउने कलेजले प्रयोगात्मक शिक्षाका लागि स्थानिय सञ्चारमाध्यममा विद्यार्थी पठाउने गरेकाछन् । गंगासंगै उनको ब्याचका २८ जना विद्यार्थी जिल्लाका विभिन्न सञ्चार माध्यममा प्रयोगात्मक अभ्यासका लागि गएकाथिए । आमसञ्चारको महत्व र रौनक पच्छ्याउँदै पत्रकारिता विषय छनौट गरेकी निशा श्रेष्ठ अनलाइन मिडियाको प्रशिक्षार्थी थिइन् ।परिक्षा नजिकिँदै गर्दा उनी अहिले सोही अनलाइन मिडियामा कर्मचारी भइसकिन् । तर फिल्डमा पत्रकार महिला नदेख्दा उनलाई अनौठो लाग्५ ।“ कलेजमा त हामीलाई निकै सम्भावना भएको क्षेत्र भनेर पढाइन्छ ,” श्रेष्ठले भनिन् ,“ तर फिल्डमा धेरै पत्रकार महिला नदेख्दा यो विषयमा टिक्न गाहे रहेछ की जस्तो लाग्छ । ” नेपाल पत्रकार महासंघ चितवनमा २ सय ३८ जना साधारण सदस्य छन् ती मध्य ५४ जना पत्रकार महिला छन् । तर ती सबै पत्रकार महिला सक्रिय छैनन् । महासंघको सदस्यता भएका र सक्रिय रुपमा काम गर्ने पत्रकार महिला ७÷८ जना मात्र छन् ।
नेपाल पत्रकार महासंघ चितवनकी उपाध्यक्ष शान्ता अधिकारी वि.सं २०५६ सालदेखि पत्रकारिता पेशामा सक्रिय छिन् । भ्याएसम्म जिल्लामा हुने सबै कार्यक्रमहरुमा उनी पुग्छिन् । चितवनमा स्थलगत रिर्पोटिङमा हिँड्ने पत्रकार महिलाको संख्या कम रहेको उनले स्विकारीन् ।“ मिडियाको संख्या बढेसंगै पत्रकारितामा महिला सहभागिता त बढ्यो,” अधिकारीले भनिन् ,“तर आवाज र अनुहारका लागि मात्र महिलालाई रोजगार दिने परिपाटीले फिल्डमा पत्रकार महिलाको संख्या बढाएन । ” नेपाल पत्रकार महासंघ चितवनका अनुसार यहाँ २५ वटा पत्रपत्रिका ,६ वटा अनलाइन , १५ वटा एफएम र ६ वटा टेलिभिजन छन् ।
नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य सृजना अर्यालका अनुसार सामाजिक परिवेशकै कारण पत्रकारितामा टिकिराख्न महिलालाई गाहे हुन्छ बताइन् । घरपरिवार तथा रोजगारको दोहोरो जिम्मेवारीले अधिकांश पत्रकार महिलाहरुलाई विस्थापित गराएको उनको भनाई छ ।
चितवनको पत्रकारितामा महिला सहभागिताको इतिहास विसं २०३९ सालदेखि नै देखिन्छ । ०४६ सालको राजनीतिक परिर्वतनपश्चात माया श्रेष्ठ, कलावती खरेल, मन्दिरा श्रेष्ठ, शारदा पौडेलले सक्रिय पत्रकारिता गरेको इतिहास छ । चितवनमा पहिलो पटक महिलाको सम्पादन रहेको पत्रिका २०४० सालमा शीला श्रेष्ठ सम्पादक रहेको ‘ऋचा’ नामक साप्ताहिक दर्ता भएको थियो ।